काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न काभ्रे गएको टोलीमाथि आक्रमण भएपछि फायरिङ गर्नु परेको प्रहरीले दाबी गरेको छ ।
विशेष सुराकीका आधारमा अपरेशनका लागि रोशी गाउँपालिका पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ४ राउण्ड फायर गरेको दाबी गरेको हो ।
अपरेशनको नेतृत्वको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह रोठौरले काफल डाँडामा विप्लव समूहका कार्यकर्तासँग जम्काभेट भइ नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरीमाथि फायर गरी आक्रमण गरेको दाबी गरे ।
‘त्यसक्रममा प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड फायर गर्दा समूहका सदस्यहरु भागेका थिए । त्यसमध्ये शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भएका छौं’, राठौरले भने ।
राठौरका अनुसार १० माघमा एनसेल मुख्यालय, नख्खुमा भएको विस्फोट, कमलपोखरीमा भेटिएको बम र बसुन्धारामा वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विष्फोटमा विप्लव समूहको संलग्नता देखिएपछि प्रहरी उनीहरुको खोजीमा जुटेको थियो ।
यो पनि पढ्नुहोस्:
काभ्रे गोलीकाण्ड अपडेट : विप्लव समूहका ४ कमाण्डर पक्राउ
त्यसक्रममा मंगलबार बिहान नुमबहादुर विक र डिकेन्द्र राई काठमाडौंबाट पक्राउ परेका थिए । अन्य व्यक्ति काभ्रेमा लुकेको सूचना पाएपछि त्यसतर्फ महाशाखाको विशेष टोली खटिएको राठौरको भनाइ छ ।
काभ्रेबाट पक्राउ परेका दुई जनाको साथबाट विभिन्न कम्पनीको मोबाइल ६ वटा, चार्जर ४ वटा, पिलास, कालो लेदर ब्याग र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ लेखिएको दस्तावेज लगायत बरामद भएको छ ।
थप अनुसन्धान जारी रहेको महाशाखाका सूचना अधिकारी समेत रहेका राठौरको भनाइ छ ।
हेर्नुस् महाशाखाले जारी गरेको विज्ञप्ति
यो पनि पढ्नुहोस्:
सरकारले प्रतिबन्ध लगाएपछि जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लखेट्ने विप्लव समूहको याेजना
Source: Online Khabar
सुरेश आचार्य । २०७५ चैत्र ६, बुधबार