होली खेलेर जुटाएको पैसा क्रिकेट रङ्गशालालाई

७ चैत, काठमाडौंँ । हास्य टेलिसिरियल भद्रगोल समूहले च्यारिटी होली खेलेर जुटाएको पैसा धुर्मुस–सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको छ ।

भद्रगोल समूह र जेष्ठ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेको च्यारिटी कार्यक्रममा एक लाख ५१ हजार ४४० रुपैयाँ उठेको र उक्त रकम सीताराम कट्टेल र कुञ्जना घिमिरेले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि हस्तान्तरण गरिएको कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

“यसपटकको होली हामीले च्यारिटी कार्यक्रम गरेर मनायौँ,” उनले भने, “आगामी दिनमा यस्तै रचनात्मक गतिविधि गरेर सक्रियता बढाउँछौँ ।”

भद्रगोल समूहले बेलाबखत यस्ता सिर्जनात्मक कार्य गर्दै आइरहेको छ ।

गतवर्ष पनि भद्रगोग समूहकै जिग्री पाँडे प्रतिष्ठानले सप्तरीमा तीन दृष्टिविहीन परिवारलाई आवास बनाइदिएको थियो ।

तपाईको प्रतिक्रिया