सुदूरपश्चिम प्रदेशद्वारा सुशासन विधेयक पारित

१७ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले ‘सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा भवनमा बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि उक्त विधेयकमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले विधेयक पारित पछि बन्ने ऐनको अक्षरशःकार्यान्वयन गर्नसके मात्र प्रदेशमा सुशासन कायम हुन सक्ने धारणा राख्नुभएको थियो । छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का देवकी मल्ल, अमरबहादुर साउद, नेपाली काङ्ग्रेसका भरतबहादुर खड्का र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले भाग लिनुभएको थियो । आजको बैठकको विशेष समयमा यसअघिका बैठकको शून्य समय र विशेष समयमा उठाइएका प्रश्नको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले जवाफ दिनुभएको थियो । अर्को बैठक यही चैत १९ गते दिउँसो २ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया