कोरियाबाट मात्रै एक वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिन्छ !

काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स कम्पनी तथा बैंकिङ प्रणालीबाट १८ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ (सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिददरअनुसार) भित्रिएको देखिन्छ । यो रकम सोही अवधिमा कोरियामा नेपालीले गरेको आम्दानीभन्दा करिब ४४ अर्ब ६५ करोड रुपैयाँले कम हो ।

रोजगारका लागि दक्षिण कोरिया पठाउने सरकारको आधिकारिक निकाय ‘इम्प्लोइमेन्ट परमिट सिस्टम (इपिएस) शाखा कार्यालयअनुसार दक्षिण कोरियामा नेपाली कामदारले प्रत्येक वर्ष न्यूनतम ६३ अर्ब रुपैयाँ कमाइ गरिरहेका छन् ।

त्यसो हुँदा बैंकिङ प्रणालीबाट नेपाल भित्रिने र कामदारले कमाइ गरेको रकमको अन्तर ४३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । अन्तर देखिएको सोही रकम हुन्डीमार्फत नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले समेत यो तथ्यलाई स्वीकार गरेको खबर आजकाे नयाँ पत्रिकामा छ ।

(२१ फाल्गुण २०७५, मंगलवार १०.१८ मा प्रकाशित )

तपाईको प्रतिक्रिया