कालिकोटका डिएसपी भन्छन् बच्चादेखि बृद्धासम्म विप्लव छन् कसलाई समात्नु ?

कालिकोट विप्लव नेकपाकाे गढ हो ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला कालिकोट सुरक्षा दृष्टिले निकै ‘संवेदनशील’ बनेको छ। विश्वकर्माको घर नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोट हो। उनले मालकोटमा ‘चुनौतीपूर्ण प्रभाव’ विस्तार गरेका छन्। मालकोटमा २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थालिएको छ।

हेडक्वार्टरसम्म पुग्न १६ किलोमिटर बाटो खन्न थालिएको छ। खुलालु–लालु–मालकोटसम्म १४ किलोमिटर सडक विप्लव माओवादीले खनिरहेको प्रहरीले जनायो। यो कालिकोट सदरमुकाम मान्मबाट ११ किलोमिटर टाढा कर्णालीपारिको भू–भाग हो। सदरमुकामबाट कर्णाली नदीसम्म बाटो छ। तर, कर्णालीपारि बाटो छैन। कर्णाली नदीमा पुल बन्दैछ। नदीबाटै डोजर पार गराएर विप्लव नेकपा ले बाटो खन्न थालेको थियाे

विप्लव नेकपा ले झन्डै पाँच करोड लागतमा सडक खन्न थालेको हो। सात किलोमिटर सडक खनिसकिएको छ। सवा करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ। बम बिस्फोट, चन्दा–आतंक बढेपछि अहिले सडक र पार्टी हेडक्वाटर भवनको निर्माण प्रहरीले रोकिदिएको छ।

‘यी सबै कार्य विश्वकर्माकै अगुवाइमा भइरहेका छन्, सडक र भवन निर्माण रोकिदिएका छौं,’ कालिकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद शर्माले भने, ‘विप्लव माओवादीबाट प्रहरीलाई चुनौती दिने काम भइरहेको छ, हामीले उनीहरूको अभियान सफल बन्न दिएका छैनौं।’
‘उनी कालिकोट नै छन् भन्ने सूचना छ, हामी खोजी गरिरहेका छौं,’ डिएसपी शर्माले भने।

कोही पनि सदरमुकाम टेक्न सकेका छैनन्, अर्धभूमिगत रूपमा गाउँ–गाउँमा खटिन्छन्,’ शर्माले भने, ‘नवीन बिक अत्याधिक खोजीमा छन्।’

प्रहरीका अनुसार विप्लव माओवादीले प्रहरी कार्यालयहरूलाई निशाना बनाउन खोजेको छ।

‘उनीहरूसँग प्रशस्तै हतियार छन् र प्रहरीबाट हतियार लुट्ने योजना बनाइरहेको सुनिन्छ, तर वास्तविकता के हो हामी अनुसन्धान गरिरहेका छौं,’ डिएसपी शर्माले भने।

कालिकोटमा ६ वटा गाउँपालिका, ३ नगरपालिका छन्। जिल्ला प्रहरीसहित पन्ध्र वटा युनिट छन्, ३५० जनाको दरबन्दी छ।

कालिकोट विप्लव माओवादीको गढ हो। यहाँ हरेक घर विप्लव माओवादीका कार्यकर्ता छन्। यूवादेखि वृद्धवृद्धासम्म विप्लव माओवादीका कार्यकर्ता छन्।

‘विप्लव माओवादीका कार्यकर्ता पक्रने हो भने यहाँको जेलले थाम्दैन, तीन वटाजति स्कुल चाहिन्छन्,’ डिएसपी शर्मा भन्छन्।

तपाईको प्रतिक्रिया