विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ’जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको छ । गएराति ललितपुरको च्यासलमा रहेको कोठाबाट कार्कीलाई पक्राउ गरिएको उहाँकी श्रीमती सिताले उज्यालोलाई जानकारी दिनुभयो । औषधि किन्न नजिकैको पसलमा गएर कोठामा फर्कने बित्तिक्कै सादा पोशाकमा पुगेका प्रहरीले कार्कीलाई पक्राउ गरेको उहाँले बताउनुभयो । कार्कीलाई पक्राउ गरिएको बारे नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीसँग बुझ्दा आफूलाई जानकारी नभएको बताउनु भएको छ । यसअघि पनि पक्राउ परेका कार्की सर्वोच्च अदालतको आदेशपछि रिहा हुनुभएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि गएको मंगलबार सरकारले प्रतिबन्ध लगाएको छ । उसका गतिविधिमा प्रतिबन्ध लगाए पनि सरकारले पटक–पटक वार्तामा आउन आह्वान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया