४६ दिनपछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

पोखरा ।  गण्डकी मेडिकल कलेजमा ४६ दिनदेखि लागेको ताला शनिबार खुलेको छ । विद्यार्थीहरुले न्यायिक प्रक्रियाबाट नै न्याय पाउने भन्दै ताला खोलेका हुन् । आन्दोलनरत विद्यार्थी अनित सिन्हाले दिउँसो साढे एक बजे जिल्ला प्रशासनको रोहबरमा ताला खोलेको बताए । कलेज प्रशासनसँग सम्पर्क हुन नसकेपछि जिल्ला प्रशासनको समन्वयमा ताला खोलिएको विद्यार्थीले जनाएका छन् ।

अस्पतालको ओपीडी र काउन्टरसहित ६ वटा ताला विद्यार्थीले खोलेका हुन् । विद्यार्थीहरुले बिहीबारदेखि नै ताला खोलेर अस्पताल पुन सञ्चालन गराउन खोजेपनि कलेज र अस्पताल प्रशासनबाट जिम्मा लिने ब्यक्ति नपाएपछि दुई दिन पछाडि धकेलिएको हो । शनिबार नै विद्यार्थीहरुले लेखनाथस्थित कलेजमा लगाइएको ताला पनि खोलेका छन् । तर, नयाँबजारमा रहेको प्रशासनिक र लजिस्टिक समान रहेको भवनमा भने जिम्मा लिने ब्यक्ति नभएकै कारण ताला खोलिएको छैन ।

सरकारले काठमाडौंबाहिरका मेडिकल कलेजका लागि ४२ लाख ४५ हजार र भित्रका लागि ३८ लाख ५० हजार शुल्क तोके पनि गण्डकी मेडिकल कलेजले बिना रसिद १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क लिएको विद्यार्थीको आरोप छ । यहि विषयलाई लिएर विद्यार्थीले सञ्चालक विरुद्ध ठगि मुद्दा दिएका छन् । सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विद्यार्थी सिन्हाले ताला खोलेको भएपनि आन्दोलन फरक ढंगले गर्ने बताए । पढाईसँगै न्यायको लडाई जारी रहने उनको भनाई छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले न्यायिक प्रक्रियामा गएको भन्दै विद्यार्थीले ताला खोलेपछि अब सञ्चालकहरुले पठनपाठन सहज बनाउने र अस्पताल सञ्चालन गर्नुपर्ने बताए । ‘अत्यावश्यक सेवा अन्तर्गत रहेको स्वास्थ्य सेवा बन्द गर्न मिल्दैन,’ उनले भने, ‘अब छिट्टो सञ्चालन गराउने दायित्व सञ्चालकहरुको हो, लुकेर समस्याको समाधान हुँदैन, उहाँहरु आउनुप¥यो ।’ पक्राउ पुर्जी जारी गरिएका बाहेकपनि सञ्चालक रहेकाले उनीहरुले जिम्मा लिनुपर्ने सिडिओ बुढा बताउँछन् ।

तपाईको प्रतिक्रिया