पिएसजी ३–१ ले विजयी, मार्सेलीका किपरले रातो कार्ड पाए

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्टजर्मेन (पिएसजी) ३–१ गोल अन्तरले विजयी भएको छ । आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलीलाई हरायो ।

पिएसजीको जितमा डी मारियाले दुई र एमबाप्पेले एक गोल गरे । जर्मेनले मार्सेलीका लागि एक गोल फर्काए । यो खेलमा मार्सेलीका किपरले रातो कार्ड पाउँदै मैदान छाड्नुपर्‍यो ।

एमबाप्पेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पिएसजीले सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै जर्मेनको गोलमा मार्सेलीले बराबरी गर्‍यो । त्यसपछि ५५ र ५६ औं मिनेटमा डी मारियाले गोल गरेर पिएसजीलाई ३–१ को जित दिलाए ।

६२ औं मिनेटमा मार्सेलीका किपर म्यानडान्डालाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइदिए । आफ्नो क्षेत्रभन्दा बाहिर गएर ह्याण्डबल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

म्यानडान्डा बाहिरिएपछि मार्सेलीले योहान पेलेलाई गोलरक्षकको रुपमा मैदान प्रवेश गराएको थियो । उनले एमबाप्पेले प्रहार गरेको पेनाल्टीलाई जोगाए ।

जितपछि शीर्षस्थानको पिएसजीको २८ खेलबाट ७७ अंक भएको छ र दोस्रो स्थानको लिलेको ५७ अंक छ । चौथो स्थानको मार्सेलीको ४७ अंक भएको छ ।

Source: Online Khabar

तपाईको प्रतिक्रिया