
१६ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले यही वैशाख २१ गतेदेखि बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण शुरु हुने बताउनुभएको छ ।
बारा जिल्लाको फेटा गाउँपालिका–६, पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न पुग्नुभएका उपप्रधानमन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकैपटक घर निर्माण गर्ने कार्य शुरु हुने बताउनुभयो ।
उहाँले घर निर्माणमा ७५० जना इञ्जिनीयर संलग्न हुने जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकारको निर्णय बमोजिम नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावितहरुका लागि घर निर्माण गर्ने कार्य पूरा गर्ने स्पष्ट गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “हावाहुरी प्रभावितका लागि नेपाली सेनाले गर्न लागेको घर निर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन ।”
उपप्रधानमन्त्री पोखरेलले प्रदेश नं. २ का मुख्य सचिवको संयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको समेत सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय भएका दुईकोठे घर बनाइने जानकारी दिनुभयो ।
यसअघि उपप्रधानमन्त्री पोखरेलले हावाहुरी प्रभावितहरुलाई नयाँ घर निर्माण गर्ने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुसँग जानकारी लिनुभएको थियो ।
सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई रु ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।
रासस

सुरेश आचार्य । २०७६ बैशाख १६, सोमबार