ट्रकको ठक्करबाट विद्यार्थीको मृत्युपछि कैलालीकाे लम्की तनावग्रस्त

१७ वैशाख ,कैलालीको । लम्कीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र तनाबग्रस्त बनेको छ।

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको ना ७ ख ९२३३ नं को ट्रकको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएको हो।

स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शनकारीको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएका छन। प्रदर्शनकारीतर्फ कति जना घाइते भए भन्ने एकिन नभएपनि लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी घाइते भएका छन्।

घाइतेहरुको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था मध्यम खालको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले नेपालखबरलाई जानकारी दिए।

प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, सहायक प्रहरी हवल्दार प्रेमसिं धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरीलगायत घाइते भएका हुन्।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीरीले लाठिचार्ज गर्नुका साथै दर्जनाैं सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढु‌ंगा मुढा प्रहार गर्न थालेपछि स्थिति तनाबग्रस्त बनेकाे हाे।

मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन्। प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ।

अहिले प्रदर्शनकारी र प्रशासनबीच वार्ता चलिरहेको डीएसपी बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया