चीन पछि हटेपछि जैसे-ए-मोहम्मद प्रमुख मसुद अजहर अन्तराष्ट्रिय आतंकवादी घोषित

एजेन्सी । पाकिस्तान भित्र बसेर काम गरिरहेको इस्लामिक संगठन जैसे-ए-मोहम्मद प्रमुख मसुद अजहरलाई संयूक्त राष्ट्रसंघले बुधबार अन्तराष्ट्रिय आंतकवादी घोषित गरेको छ।

उनलाई आतंकवादी घोषणा गर्ने राष्ट्र संघको यसअघिका प्रयास असफल हुँदै आएका थिए।

पाकिस्तानसँग असल सम्बन्ध भएको चीनले यसअघि चार पटक राष्ट्रसंघको सो प्रस्ताव बिरुद्द भिटो प्रयोग गरेको थियो।

भारतीय भुमीमा पटक पटक आक्रमण गरेको आरोप लागेका अजहरलाई आतंकवादी घोषणा गर्न भारतले राष्ट्रसंघमा र चीनसँग ‘लविङ’ गर्दै आएको थियो।

चीन यस दिशामा सकारात्मक भएपछि अजहरलाई प्रतिबन्ध लगाउने बाटो खुलेको हो।

यसमा पाकिस्तान बिरुद्द भारतको कुटनैतिक जित भएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

संयूक्त राष्ट्र संघको सुरक्षा परिषदको १२६७ अन्तरगतको एक कमिटीले अजहरको अन्तराष्ट्रिय आतंकवादी संगठन अल-कायदासँग सम्बन्ध रहेको जनाएको छ।

आतंकवादी हमलाका लागि श्रोत जुटाउने, योजना बनाउने र घटना घटाउने काममा संलग्नता रहेकाले अन्तराष्ट्रिय आतंकवादी घोषणा गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

जैसे-ए-मोहम्मदलाई राजनीतिक शक्ति भन्दै संरक्षण दिदैं आइरहेको पाकिस्तानले पनि राष्ट्रसंघको प्रतिबन्धपछि सो समुहलाई आतंककारी समुहका रुपमा व्यवहार गर्दै उसका गतिविधिमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

प्रतिबन्ध पछि पाकिस्तानले सो संगठनको आर्थिक कोषमा रोक लगाउनुसँगै हातहतियारमा उसको पहुँच र सदस्यहरुको यात्रामा पनि प्रतिवन्ध लगाउनुपर्नेछ।

जैसे-ए-मोहम्मदले गत फरबरी १४ मा भारतको पुलुवामामा ४० जना भारतीय सैनिकको ज्यान जानेगरी भएको हमलाको जिम्मेवारी लिएको थियो। सो घटनापछि फ्रान्स, संयूक्त राज्य अमेरिका तथा बेलायतले ५० वर्षिय अजहरविरूद्ध प्रतिबन्ध र आतंकवादीको घोषणा गर्नुपर्ने भन्दै राष्ट्र संघमा प्रस्ताव लगेका थिए।

Setopati

तपाईको प्रतिक्रिया