देहातको दैनिकी

 

गाउँ । देहातमा फेरिंँदै गएको अवस्था चित्रित गर्न नयाँ आहान आविष्कार भएको छ । ‘माटी, बाटी, टाटी, चाँटी, बदलल देहात के कदकाठी ।’ यसको अनेकौं व्याख्या गरिँंदैछ । यसको आशय माटी अर्थात् माटोको उर्वरतामा कमी आयो  भन्ने हो । कृषिप्रधान अर्थतन्त्रको मियो गाउँ त्यसबाट टाढिँंदैछ । सहर गाउँतर्फ आइरहेको छैन, बरु गाउँ सहरतिर पसेको छ ।

बढ्दो विस्थापनसँगै पुरानो थातथलोप्रतिको आकर्षण कम हुँदै गएको छ । भूमि साविकजस्तो सत्तालाई नियन्त्रित गर्ने स्रोतको रूपमा छैन । बाटी (कचौरा) ले गाउँको खस्किंँदै गएको आत्मनिर्भरता र बढ्दै गएको परनिर्भरताले मधेसको ‘मगन्ते चरित्र’लाई दर्शाउँछ । बाहिरबाट आएको रकमले चाहे त्यो व्यक्ति होस् वा समुदाय तिनको आर्थिक क्रियाशीलता टिकेको छ । आय आर्जनका क्षेत्रमा गैरखेतीहर अर्थव्यवस्थाको उदय भएको छ ।

टाटी (पर्खाल) ले घरको बनोटलाई झल्काउँछ । पछिल्ला वर्षहरू घर निर्माण गर्दा कंक्रिटको ज्यादा प्रयोग गरिँदै छ । गाउँको बसोबास गुजमुजिनुको साटो सडक छेउमा तन्किंँदै गएको छ । चाँटी (झापड) ले सामाजिक अनुशासन कमजोर भएको जनाउँछ । पहिले पहिले टुप्पोमा रहेका जात विशेषले आफूभन्दा मुनिकाहरूलाई दण्ड दिने ईवरीय अधिकार ठान्थे ।

त्यसैले मधेस राजनीतिक रूपमा सशक्त भए पनि यहाँका सामाजिक मुद्दा प्रायः ओझेलमा परे । मधेसमा जाति व्यवस्था एक प्रमुख तथा निर्णायक पक्ष हो । जात–जातको आधारमा मधेसी समाज आपसमा अधिक विभाजित र निषेधले भरिएको भए पनि ज्ञान उत्पादन र राजनीतिक सहभागितामा समावेशीको मुद्दाले प्रवेश पाएसँगै यी विषयमा विमर्श हुनथालेको छ ।

जनभावनालाई बुझ्ने एउटा माध्यम निर्वाचन हो । स्थानीय तहको निर्वाचनले स्थानीय सरकार स्थापित गरेको छ । निर्वाचन सम्बन्धी आधुनिक मान्यता अनुसार निर्वाचनमार्फत व्यक्ति विशेषले धेरैको प्रतिनिधित्व गर्छ । एक पटक कसैलाई प्रतिनिधि छनोट गरिसकेपछि तिनलाई आफ्ना मतदाताबारे निर्णय लिने अधिकार हस्तान्तरित हुन्छ ।

स्थानीय तहमा वडाका निर्वाचित प्रतिनिधिहरू छन् । आफ्नो वडाभित्र बस्ने आफूलाई मत दिने/नदिने सबैको हितकारी काम गर्नु तिनको दायित्व हो । पहिले–पहिले सजिलो हुन्थ्यो होला, कृषिले गाँजेको जीवन पद्धतिले गर्दा स्थानीयबासीको सरोकारमा केही साझापन हुन्थ्यो । अब तिनको मानस फेरिएको छ । गाउँमा विकसित सामाजिक संरचनाले गर्दा अनेकौं समूह निर्माण भएका छन् र तिनीहरू ग्रामीण सत्ता निर्माणमा मुखर भएर आएका छन् । अहिले तिनीहरू आफ्नो सरोकार अनुसार स्वार्थलाई परिभाषित गर्दैछन् । सत्ताको दाबी गर्दैछन् ।

निर्वाचितहरूले आफूले एकपटक पाएको मत ५ वर्षका लागि भए पनि सत्ता अविच्छिन्न होइन भन्ने बुझ्न सक्नुपर्छ । जनचाहनाको परीक्षामा उनीहरू उत्तीर्ण हुनुपर्छ, नभए नयाँ–नयाँ द्वन्द्वको भुमरीमा फस्न पुगिन्छ । जनप्रतिनिधिहरूमा संरचनात्मक लाभांश र संरचनात्मक अन्धता जिउँदो छ । त्यसलाई बदलिँंदो भुइँसतहले अस्वीकार गरिराखेको छ । समुदायको सहभागिता, विविधता, प्रश्नको आदर, संवाद र असहमति बुझेर समावेशी आधार निर्माण गर्न चाहेन भने स्थानीय सरकार गणितमा जतिसुकै शक्तिशाली देखिए पनि असफल हुनपुग्छ ।

कतिपय समाजशास्त्रीले सामाजिक विकासको संरचनात्मक स्वरुप समताकारी बनाउने ध्येयले पारम्परिक रूपमा रहेका भेदभाव (डिसक्रिमिनेसन), शोषण (एक्सप्लोइटेसन), दबंगई (अप्रेसन) बाटमुक्तिको कुरा गर्छन् । सबैमा मूलभूत मानवीय आवश्यकता, सामाजिक न्यायको जग र अवसरको उपलब्धताको अवधारणा अघि सार्छन् । तर बदलिँंदै गएको गाउँमा नयाँ औपनिवेशिकता प्रकट हुँदैछ । देहात न त समाप्त भएको छ, न सहरमा नै परिवर्तित । बरु यो विविध र केही विचित्रको स्थितिमा उपस्थित छ ।

गाउँ अब उपभोक्तावाद, व्यक्तिवाद, नयाँ सामूहिक धार्मिकता, बजार, गैरकृषि अर्थव्यवस्था तथा नयाँ कलेवरको सामन्तवादको एउटा यस्तो मिश्रित थलो बन्नगएको छ, जसलाई बुझ्न नयाँ दृष्टिकोण आवश्यक छ । नेताहरू यी समस्याबारे कुरा गर्न चाहँदैनन् । देहातको सामाजिक अर्थतन्त्रमा भएको ऐतिहासिक गल्तीलाई स्वीकारे पनि फेरिँंदै गएको परिवेशका विषयमा छलफल गर्न तयार देखिंँदैनन् । गाउँलाई सहरीकृत हुँदै गएको समाजको उपनिवेश बनाइएको छ ।

मधेसको गाउँ मधेसी समाजको प्रतिनिधि त बन्न सकेन, तर बजारको एउटा यस्तो अंग बन्यो, जो विकासका लागि केन्द्रलाई गुलजार बनाउँदैछ र आफू स्वयं परिधिभित्र सुसाइरहेछ । संवैधानिक अधिकारले पिछडिएका जात र दलितलाई लोकतान्त्रिक राजनीतिमा अधिकार त दिएको छ, तर प्रभु–जातिको चक्रव्यूहबाट मुक्त हुने छाँटकाँट तत्काल कम छ । दलका नेताहरू अहिलेको संरचनाभित्रका अमानुषिक र विषालु संरचनाको पोल खुल्ला भन्ने डरमा छन् ।

सहरीकरण, औद्योगीकरण, विप्रेषणीकरण र नवउदारीकरणको सन्दर्भमा अन्तरजातीय सम्बन्धको प्रभाव विश्लेषण आवश्यक छ । कृषिलाई समाजको ठूलो हिस्साले लाभदायक व्यवसाय मान्दैनन् । स्वभावतः गैरकृषि कार्यबाट आजीविका निर्वहनतर्फ समाज बढ्यो । किसान र कृषि श्रमिकबीच सामाजिक र आर्थिक सम्बन्धमा नयाँ परिवेश बन्दैछ । कृषिको व्यापारिक प्रयोजनका कामले सामाजिक, आर्थिक एवं पर्यावरणीय विषमता जन्माएको छ ।

स्मार्टफोन र बाइक देहातमा क्रान्तिकारी परिघटना भएको छ, जसले पारम्परिक पेसालाई बलियो बनाउनुका साथै नयाँ–नयाँ रोजगारी सिर्जना गरेको छ । गाउँदेहात पसेको प्रविधिले पारिवारिक र सामाजिक व्यवस्था प्रभावित गरेको छ । युवाको मूल्य, सोच, जीवनशैली, कला, संगीतको क्षेत्रमा गाउँमा बसोबास गर्दा पनि सहरियाले थिचेको छ ।

अर्थात् तिनको जीवनदृष्टि निर्माणमा आफ्नो समुदायको प्रत्यक्षसम्बन्ध कम हुँदै गएको छ । प्रविधिले राजनीतिमा नयाँ शैली भित्र्यायो, जो जातीय र साम्प्रदायिक विचार विस्तारको माध्यम बन्यो । मधेसभित्र पनि गाउँको अवस्थिति अनुसार प्रभाव फरक–फरक छ । सीमा क्षेत्रको गाउँ, सहर समिपको गाउँ वा राजमार्गवरिपरि (मिश्रित बसोबास) को गाउँ ।

महायज्ञ आयोजनको होड, काँवरियाको राजनीतीकरण, जनप्रतिनिधि कोषको ठूलो हिस्सा धार्मिक अनुष्ठानमा लगानी, नयाँ–नयाँ गुरु–बाबाहरूको प्रचार, जागरण अनुष्ठानको विस्तारजस्ता गतिविधि बाक्लिँदै गएका छन् । धर्म, आस्था र विश्वासको विषय–वस्तुको साटो उपभोगवाद र मनोरञ्जनको विकृत रूप देखिएको छ ।

ग्रामीण समाजको धार्मिकतालाई राजनीतिक चक्रव्यूहले घेराबन्दी गर्न थालेको छ । धार्मिक अनुष्ठानको आडम्बरयुक्त सार्वजनिक प्रदर्शनमा अघोषित प्रतिस्पर्धालाई राजनीतिक प्रभाव विस्तारको क्षेत्र बनाइँदैछ । ठूलो समूहको साथ सहयोग, मनोरञ्जन, पहिचानको चाहना तथा सामाजिक–राजनीतिक स्वीकार्यता नयाँ धार्मिकताको केन्द्रमा छ ।

कृषि आधारित पर्वको चलन तथा सादगीपन कृषिजस्तै पतनोन्मुख मार्गमा छ । त्यसको साटो कर्मकाण्डी एवं प्रदर्शनमुखी सार्वजनिक–सांस्कृतिक आयोजनको चलनले ठाउँ लिँदैछ । कमवेशी हुन सक्छ तर प्रत्येक धर्मावलम्बीमा धर्मान्धताले ग्रसित समूह अस्तित्वमा छ । यसले पनि द्वन्द्वको बिउ रोप्दैछ ।

गाउँ र सहर जोड्ने सूत्र के हुन् ? एकले अर्कोलाई पोषित गर्ने अवसर बाँकी छ/छैन ? गाउँबारे प्रचलित मान्यताको धरातल किन भत्किँंदैछ ? स्थानीय ज्ञानलाई कसरी पुँजीकृत गर्ने ? जात व्यवस्थाको अपरिवर्तित ढाँचा र सामाजिक न्याय बीचको दूरीलाई के गर्ने ? किसान आन्दोलन र गैरकृषि क्षेत्रको अवसरबारे अब गाउँको ‘दलान’मा गफिनेहरू विरलै छन् ।

परम्परागत जात आधारित व्यवसायको बाध्यता समाप्त हुँदैछ । तर जातको अस्मिता र भावना कायमै छ । भुइँसतहसम्म दलीय तन्त्रको प्रभाव बाक्लिँंदै गए पनि तिनीहरूको सीमाभन्दा माथि जात आधारित संठनहरूमा आबद्धताको आकर्षण नयाँ रुझान बनेको छ । कुनै पनि राज्य न्याय, स्वतन्त्रता र समतामा आधारित नहुँदा द्वन्द्व हुन्छ ।

बहुतहको निर्वाचित संरचनाले समाजको भूगर्भ देहातलाई राज्यको बृहत क्यानभासमा नदेख्दा द्वन्द्वका अनेक आयाम खुलेका छन् । गाउँमा नयाँ संक्रमण सुरु भएको छ । यसले अन्याय, उत्पीडन र विभेदको नयाँ औपनिवेशिक तन्त्रहरू खडा गर्दैछ । गाउँ आफैंमा समस्या र द्वन्द्वको बिउ होइन । बरु समस्या र द्वन्द्व समाधान गर्ने नाभी हो । गाउँ भन्ने बित्तिकै हिजो जुन संस्कृतिको विम्ब खडा हुन्थ्यो, आज त्यो हराउँदै गएको छ ।

कान्तिपुर बाट

तपाईको प्रतिक्रिया