बैतडी । सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ। गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नुपर्ने मान्यता रहेको छ। गौरापर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ। गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता भएकाले नयाँ व्रतालुहरुले समेत आज उपासना गर्ने प्रचलन छ। गौरा एकादशीदेखि गौरा पर्व सुरुवात भएको मानिने ज्योतिष कृष्णानन्द अवस्थीले जानकारी दिए। भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भनिन्छ। गौरा पर्व अगामी भदौ ६ मा रहेको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यस पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। यस पर्वको महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन्। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ। गौरा भित्र्याएर पुजाअर्चना गरी महिलाहरुले दुवधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन्। साँझ अभिषेक गरेर दुवधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन्। सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्। महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ। गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ।
थाहा खबर वाट
सुरेश आचार्य । २०७६ श्रावण २६, आईतवार