डायलाइसिसअघि आरडीटी रिपोर्ट नेगेटिभ, दाहसंस्कारपछि पीसीआर पोजेटिभ

४० जना मलामीको खोजीमा प्रदेश सरकार


कैलाली : धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया एक महिलाको शुक्रवार बिहान डायलासिस गर्ने क्रममा मृत्यु भयो।  शुक्रवार बिहान सेतीमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको डायलाइसिस वार्डका व्यवस्थापक दीपक भट्टले बताए।

उनकाअनुसार डायलाइसिस शुरु गर्नुअघि ती महिलाको आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो। त्यसपछि उनको शव परिवारलाई बुझाउन मध्याह्न १२ बजेतिर अस्पतालबाट आफन्त बोलाइयो। शुक्रबार १ बजेतिर शव बुझेका आफन्तले अटो रिक्सामा राखेर शब घरमा पुर्‍याए।

शुक्रवार दिनभर पानी परेपछि अन्त्येष्टिको बन्दोबस्त मिलाउन नसक्दा उनको शनिवार र धनगढीको मोहना नदी किनारमा अन्त्येष्टि गरिएको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापाले बताए।  ‘अन्त्येष्टिमा करिब ४० देखि ४५ जना गएको प्रारम्भिक जानकारी पाइएको छ,’ उनले भने, ‘थप बुझ्ने काम भइरहेको छ।’ उनले आफूलाई सम्पर्क गरेर कति जना जाउँ भनेर सोध्दा सकेसम्म जति कम हुन्छ त्यति जानु भनेर जवाफ फर्काएको उनको भनाई छ।

‘अस्पतालले शव लैजान भनेपछि १२ बजेतिर ल्याएका हौँ। दिनभर पानी परेकाले हिजो अन्त्येष्टि गर्न सकिएन,’ मृतक महिलाका देवर लेखराम चौधरीले भने, ‘अहिले आएर कोरोना संक्रमण रहेको भनिएको छ।’ परम्परागत संस्कारअनुसार शव जलाएर दाहसंस्कार गरिएको उनले बताएका छन्।


अत्यष्टिपछि उनको कोरोना परीक्षणको रिपोर्ट आयो। जसमा उनको रिपोर्ट पोजेटिभ देखायो। अहिले उनको रिपोर्ट पोजेटिभ आएपछि उनी बस्ने वडा सिल गर्न प्रशासनसंग आग्रह गरिएको थापाले बताए।

अन्त्यष्टि अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। मृत्युपछि चौधरी संस्कार अनुसार अन्त्यष्टि भइसकेको उल्लेख गर्दै कार्कीले स्वास्थ्य कार्यालय अहिले ट्रेसिङमा जुटेको बताए। उनको अन्त्यष्टिमा सहभागी सबैलाई खोज्ने काम भइरहेको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले पनि मृतकको अन्त्यष्टि भइसकेको जानकारी भएपछि ट्रेसिङको कार्य भईरहेको जानकारी दिए। कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्यष्टि भएपछि अहिले मृतकको टोलमा त्रास फैलिएको छ। लामोसमयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेकी थिइन।

मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिइन्।