सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैमा एक संवेदनशिल क्षण हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरु देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफुलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ ।
गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोंच चिन्तन पनि सकारात्मक हुन जरुरी छ । गर्भवतीको मानसिक स्थितिसँग गर्भमा हुर्कदै गएको बच्चाको स्वास्थ्यको समेत सोझो सम्बन्ध रहन्छ । त्यसै त गर्भावस्था खुसी, उमंगित, सकारात्मक एवं चिन्तामुक्त हुनुपर्छ भनिएको हो ।
गर्भावस्थामा संगीत सुन्नु पनि राम्रो मानिन्छ । यसले गर्भवतीलाई अनावश्यक मानसिक तनावबाट मुक्त राख्न मद्दत गर्छ । मनलाई शान्त र आनन्दित तुल्याउँछ ।
साथसाथै यस क्षणमा कसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने कुरामा ख्याल गर्न आवश्यक छ । गर्भावस्थामा हुनसक्ने संभावित जोखिमबाट बच्न वा गर्भको बच्चाको स्वस्थ्य सही राख्नका लागि पनि गर्भवतीले आफ्नो शारीरिक स्वास्थ्य र तन्दुरुस्तीमा जोड दिनुपर्छ । अतः गर्भावस्थामा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने त ?
ब्रम्हा मुहूर्तमा उठ्ने
कतिपयलाई बिहान उठ्न अल्छी लाग्छ । यद्यपि शारीरिक एवं मानसिक स्वास्थ्यका लागि बिहान चाडै उठ्नु जरुरी छ । अझ सूर्योदय अघि । यस समयलाई ब्रम्हा मुहूर्त भनिन्छ । यसबेला वायुमण्डलमा जुन शुद्ध वायु चलिरहेको हुन्छ, त्यसलाई प्राणवायु भनिन्छ । बिहान ४ बजेको आसपासमा उठ्ने र खुला हावामा हिँडडुल गर्ने अभ्यास एकदमै उचित हुन्छ ।
नियमित प्राणायाम
यस क्षणमा गहिरो सास लिने, छाड्ने अभ्यास गर्नु उचित हुन्छ । यसले शरीरुमा पर्याप्त अक्सिजन प्रवाह हुन पाउँछ । यो आमा र बच्चा दुबैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कुनैपनि बखत गहिरो सास लिने र छाड्ने अभ्यास गर्न सकिन्छ । सकेसम्म शान्त र हरियाली वातावरणमा बसेर यस्तो अभ्यास गर्न सकिन्छ । त्यसो त घरमै काम गरिरहेको बखत, विश्राम गरिरहेको बखत पनि यो अभ्यास गर्न सकिन्छ ।
अनुलोम बिलोम
प्राणायामकै एक सरल र उत्कृष्ट विधी हो यो पनि । एउटा नाक बन्द गर्ने, अर्को नाकले गहिरो सास लिने । उक्त नाक बन्द गरेर अर्को नाकले सास छाड्ने । पुनः सास छाडेको नाकले सास लिने । यही क्रिया निरन्तर गर्ने । अनुलोम बिलोम कुनैपनि क्षणमा गर्न सकिन्छ । यस क्रियाले हाम्रो फोक्सोको कार्यक्षमता बढाउँछ ।
मनतातो पानीले नुहाउने
गर्मी मौसम छ । त्यसैले संभव भएसम्म दिनदिनै नुहाउनु उचित हुन्छ । मनतातो पानीमा नुन मिसाएर नुहाउनु उत्तम हो । यसबेला शारीरिक सरसफाईमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले नियमित नुहाउनु राम्रो हो ।
घामको न्यानो
यतिबेला बिहानको घाममा शरीरलाई न्यानो बनाउनु उचित हुन्छ । कम्तीमा १० मिनेट भएपनि घामको तापमा बस्नुपर्छ । यसले शरीरमा भिटामिन डि प्राप्त हुन्छ । गर्भावस्थामा भिटामिन डि एकदमै आवश्यक हुन्छ ।
मौसमी सागपात र फलफूल
मौसमी खानपानमा जोड दिनुपर्छ । सलाद, सागपात, फलफूल, झोलिलो पदार्थ खानेकुरामा सामेल गर्नुपर्छ । खरबुजा जस्ता फलफूलको सेवनले निकै फाइदा गर्छ । नियमित एक गिलास शुद्ध दुध पिउनु उचित हुन्छ ।
भोक लागेको भन्दा केही कम खाने
जब भोक लाग्छ पेटभर खानु ठकि हुन्न । समय समयमा खाइरहनुपर्छ, जसले गर्दा सहजै पच्न सकोस् । जति भोक लागेको छ, त्यो भन्दा केही कम खानेकुरा खानुपर्छ । खाना सुपाच्य र पोषिलो हुन जरुरी छ ।
सक्रिय रहने
हल्का काम गरेर भएपनि शरीरलाई सक्रिय राख्ने । भारी काम गर्न उचित हुँदैन । यद्यपी सामान्य कामहरु गरेर शरीरलाई फुर्तिलो राख्न सकिन्छ ।
ध्यानको अभ्यास
ध्यानले मनलाई शान्ति दिन्छ । वेचैनी, तनाव, डर हटाउँछ । ध्यान मुद्रामा बसेर आफ्नो श्वासप्रश्वास प्रक्रियामा ध्यान केन्द्रित गर्ने । दैनिक १०–१५ मिनेट भएपनि ध्यानको अभ्यास गर्न सकिन्छ ।
संगीत सुन्ने, मनोरञ्जन गर्ने
सकेसम्म आफुलाई रमाइलो माहौलमा राख्ने प्रयास गरौं । रोमान्टिक गीतहरु सुन्ने, फिल्महरु हेर्ने, पुस्तक पढ्ने गरौं । यसले मनलाई आनन्दित तुल्याउँछ । नकारात्मक भाव आउन दिदैन । दुःख र भय हटाउँछ ।
सुरेश आचार्य । २०७७ असार २, मंगलवार