हामी किन ?


अहिलेको युग सूचना प्रविधिको युग हो । मान्छेको हातहातमा स्क्रीनटच मोबाइल छन् । मोबाइलमै अनलाइन न्यूज पोर्टलका समाचारहरु उपलब्ध छन् । रेडियो, टिभि त्यही मोबाइल सेटमा प्रशारण हुन्छन् । छिनछिनमा पाठकले त्यही प्रविधि प्रयोग गरेर आफूलाई अपडेट बनाइरहेका हुन्छन् । प्रिन्ट मिडियाको समाचारभन्दा बढी पहुँच अनलाइन मिडियामा पाठकको छ । अहिले कर्णाली प्रदेशमा इन्टरनेटमा प्रत्यक्ष पहुँच हुने नागरिकको संख्या दिनहुँ बढ्दै छ ।

त्यसैले नागरिकलाई सही र तथ्यपरक सूचना तथा समाचार पस्किन कर्णाली अनलाइन समाचार पोर्टल ल्याएर हामी आम पाठककाबिच उपस्थित भएका छौ । संस्थागत हिसाबले कर्णाली अनलाइन मिसन कर्णाली मिडिया प्रालिद्धारा सञ्चालित समाचार पोर्टल हो । मिसन कर्णाली मिडिया प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सञ्चार क्षेत्रसँग सम्बन्धित काम गर्ने कम्पनी हो ।

यसै कम्पनीद्धारा सञ्चालित कर्णाली अनलाइन डिजिटल पत्रिका २०७७ भदौ १ गते सोमबार (आज)बाट सञ्चालनमा आएको छ । तर दुर्भाग्यवस विश्वनै कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त बनिरहेको बेला लकडाउनका कारण कर्णाली अनलाइन पनि नेपाल प्रेस काउन्सिलको दर्ता प्रक्रियामा छ ।

अनलाइन पत्रकारिता मार्फत जन–जनलाई जागरुक बनाएर कर्णालीको समृद्धिमा केही इँटा थप्ने हाम्रो मुख्य उदेश्य हो । कर्णालीमा पटक पटक परिवर्तनका नाममा जे जति आन्दोलन र उपलब्धी भएपनि अझँै कर्णालीका जनताको आर्थिक स्तर माथि उठेको छैन । विकासको गती सुस्त छ । समाजमा चरम भ्रष्टचार छ ।

कर्णालीका दुर दराजमा लुकाइएका सत्य र नदेखाइएका यथार्थभित्रको सूचना र जानकारी यहाँका जनतालाई पस्कने हाम्रो उदेश्य हो । यहाँका नागरिकले सही र समयमै सूचना नपाएकै कारण विभिन्न निकायमा पाइने रोजगारी तथा अवसरबाट समेत बञ्चित हुनुपरेको धेरै उदाहरण छन् । त्यसैले हरेक नागरिकलाई सूचना, सन्देश तथा समाचार पस्कदै परिवर्तनका लागि निडर, निर्भिक र निष्पक्ष पत्रकारिताको अभ्यास गर्न कर्णाली अनलाइनको जन्म भएको हो । कर्णालीमा अव्बल डिजिटल पत्रिका बन्दै इन्टरनेटको पहुँजमा हुने हरेक नागरिकलाई ताजा र सत्य खबर पस्कने हाम्रो प्रयत्न सँधै जारी नै रहने छ । अनलाइन पत्रकारिताले नेपालमा केही वर्षदेखि उल्लेख्य फड्को मार्दै गएको पनि छ । आधारभूत रूपमा अनलाइन पत्रकारिता पनि प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित हो ।


तर न्यू मिडियोको रुपमा आएको अनलाइन पत्रकारिता नयाँ माध्यम बनेको छ । न्यू मिडिया प्रभावका हिसावले शक्तिशाली बन्दै गएपछि कतिपया ठुला भनिएका मिडियाहरु हराउने र केही नयाँ मिडियाको उदय हुनु वा पुराना मिडियाको भूमिका र अवस्था परिवर्तन हुने कुरा खासै नौलो पनि होइन । तर प्रविधिको विकाससँगै विकसित पत्रकारिताको रुपले अहिले विश्वभर पत्रकारिताको संस्थापनलाई जीवित राख्न पनि अनलाइन संस्करणमा जानै पर्ने बाध्यता बन्न थालेको छ । कर्णालीमा पनि संख्यात्मक रुपमा अनलाइन खोल्ने क्रम बढ्दो छ । यसअघि खोलिएका अधिकांश अनलाइन बन्द हुने स्थितीमा पनि पुगेका छन् । तर हामी यी सबै कुरालाई बुझेर सजिलै स्थापित हुनेमा विश्वस्त छौ ।

अहिले पनि प्रिन्टलाइन मिडिया र इलेक्ट्रोनिक मिडियाहरुको अधिकांश समाचारको स्रोत अनलाइन न्यूज पोर्टल नै हुन् । स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा समाजका सबै खाले समाचारले स्थान पाउँदैनन् । त्यसैले पनि सबै समाचारहरुलाई स्थान दिने अनलाइन मिडियाप्रति पाठकहरुको आकर्षण बढ्दो छ । स्थापित छापा र विद्युतीय पत्रकारिताका चुनौतीका रूपमा अनलाइन पत्रकारिताको उदय हुदै गएको पाइन्छ । विश्वका अधिकांश देशहरूमा जस्तै नेपालमा पनि ढिलोचाँडो अनलाइन पत्रकारिता मूलधारको आमसञ्चार माध्यम बनेर सबैभन्दा अगाडि आउने कुरामा सायद कसैको बिमति नहोला ।

हाल जुनस्तरमा स्थापित पत्रकारहरूले अनलाइन पत्रकारितामा रुचि देखाउने र जसरी यो क्षेत्रमा अवसर देखेर लगानी आएको छ । त्यसले नेपाली पत्रकारिता क्षेत्रमा सकारात्मत परिवर्तन ल्याएको देखिन्छ । तर पत्रकारिताको नाममा दलगत वा दल विशेषका गुटगत पक्ष वा निश्चित व्यक्ति वा संस्थाको पोषण गर्ने, चोरेका समाचार र बिक्ने शीर्षकका भरमा अनलाइन चलाउने जस्ता पत्रकारिताको सामान्य मूल्य मान्यता समेत पालना नगरेको सामग्रीहरूप्रति हामी गम्भिर छौ । साथै आगामि दिनमा कर्णाली अनलाइनलाई माया गर्दै हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता तथा यस क्षेत्रका विज्ञहरुले हाम्रा सामाग्री नियमित पढेर आवश्यक सुझाब, सल्लाहसहित सहयोग, समन्वय गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।