बाढीसँगै पहिरो जाँदा कालिकोटमा चार जना बेपत्ता

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका ५ रुप्साको लेकाली क्षेत्र खुरखोलामा बाढीसँगै पहिरो जाँदा चार जना बेपत्ता भएका छन्। नरहरीनाथ गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष गगनबहादुर फडेरा सिर्जनले गएराती रुप्साको खुखोलामा गएको बाढी र पहिरोमा परी चार जना स्थानीय बेपत्ता भएको जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा नरहरीनाथ गाउँपालिका ५ का ५९ वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फा सहकारी, २९ वर्षीया झिमु सहकारी र ९ वर्षीय बालक रमित सहकारी रहेका छन्। वडा अध्यक्ष फडेराका अनुसार खुरखोलामा करीव ७∕८ घरहरु थिए। दुई घर पुरै बाढी पहिरोले बगाएको छ।

अरु घरमा कति मानिस थिए भन्ने बिषयमा एकिन भएको छैन। खुरखोलामा अहिले पनि नदी जस्तै बाढी बगिरहेको छ। चारैतिर बाढी र पहिरोले घरेको बीचमा बचेको टापुमा तीन जना स्थानीयले उद्धारका लागि गुहार मागिरहेका र आफुसहित स्थानीयको टोली घटनास्थल जाँदै गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले रुप्साको खुरखोलामा बाढी र पहिरोले केही मानिस बगेको खबर प्राप्त भएपछि बुधबार बिहान प्रहरी चौकी कुमालगाउँबाट प्रहरीको टोली खटाएको जानकारी दिए। उनका अनुसार प्रहरीको टोली घटना स्थल पुगेको छैन। घटना स्थलमा प्रहरी पुगेपछि घटनाको विस्तृत विवरण आउने उनको भनाइ छ।

कुमालगाँउबाट रुप्सा पुग्नै प्रहरीलाई दुई घण्टा समय लाग्ने र रुप्साबाट खुरखोला जान थप एक घण्टा समय लाग्ने स्थानीयले बतताए। घटनाको वास्तविकता आए जिल्लाबाट थप सुरक्षा टोली खटाउन परे पनि तत्काल खटाइने वडा अध्यक्षले बताए।

तपाईको प्रतिक्रिया