वडाध्यक्षले नै घरेलु हिंसा गरेको श्रीमतीको आरोप, अध्यक्ष भन्छन्, ‘आरोप गलत’

सुर्खेत । वीरेन्द्रनगर–१३ का वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले आफूलाई शारिरीक र मानसिक यातना दिएको उहाँकी दोस्रो श्रीमतीले आरोप लगाएकी छन् । वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्षका श्रीमती देवीसरा दर्लामीले २० वर्षसँगै बसेको श्रीमानले शारिरीक र मानसिक यातना दिएको आरोप लगाएकी हुन् ।

देविसरा दर्लामी

देवीसराले अहिले अर्कै महिलासँग लागेकाले आफूलाई मानसिक र शारीरिक यातना दिएको आरोप लगाइन् । स्थानीय निर्वाचनमा वडाअध्यक्ष पदमा जितेपछि श्रीमान भूपेन्द्रले यातना दिन थालेको उनको आरोप छ ।

आफू भूपेन्द्रको दोस्रो श्रीमती भएको र एक बर्षदेखि घर आउन छाडेको उनको भनाई छ । भूपेन्द्रबाट आफू अपहेलित भएकाले स्थानीय तहको निर्वाचनमा दिएको चुनावी खर्च र उनी विरामीहुँदा दिएको उपचार खर्च फिर्ता पाउनु पर्ने माग देविसराको छ ।

घर खर्च चलाउन र आफू विदेश गएर कमाई गरेको र स्थानीय निर्वाचनमा वडा अध्यक्षमा लड्दा आफैले सहयोग गरेका दावीगर्दै देविसराले उक्त रकम फिर्तँ दिनुपर्ने बताएकी छन् ।

‘भूपेन्द्रमाथि लगाएको लगानी फिर्ता पाउनुपर्ने र सम्वन्धविच्छेदको मुद्दामा बराबर अंश पाउनुपर्ने मागसहित मुद्दा दर्ता गरेको छु’ देविसराले भनिन्, ‘जिल्ला प्रहरीमा घरेलु हिंसाको मुद्दा दर्ता गराएपनि न्याय पाउन सकेको छैन् ।’

आफ्ना समस्या समाधान गर्न वीरेन्द्रनगर नगरपालिका, पार्टी कार्यालयमा पनि पुगेपनि न्याय नपाएको उनको गुनासो छ । देविसराले वडाध्यक्षसँग दुईओटा नागरिकता रहेको दावी समेत गरेकी छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष भूपेन्द्र दर्लामीले भने देवीसराले लगाएको आरोप गलत भएको बताए ।

‘उनी पहिला विवाह गरेको श्रीमानसँगै बसेकी छन्’ वडाध्यक्ष दर्लामीले भने, ‘वास्तविक यथार्थ बुझ्न] भए यहाँ आएर समाजसँग पनि बुझेर जानुहोस् ममाथि जति पनि आरोप लगाइएको छ ति सबै गलत हुन् ।’

मसँगै बस्दै नबस्ने श्रीमतीलाई कसरी मैले मानसिक र शारिरीक यातना दिनु वडाध्यक्ष दर्लामीले भने, ‘नागरिकता र मालपोतका जग्गाधनी पूर्जा देविसराले लुकाएकाले आफूले प्रतिलिपि निकालेको हुँ, दाेहाेराे नागरिकता, पूर्जाबारे प्रशासन र मालपाेतमा गएर हेर्नुहाेस् ।’

तपाईको प्रतिक्रिया