वीरेन्द्रनगरका वडा नम्बर ४ का थप १६ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५४ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ का मात्रै १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै वीरेन्द्रनगरका १३ वडामा कोरोना संक्रमितको कुल संख्या २९१ पुगेको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेब प्रशुराम खड्काले जानकारी दिए ।

वीरेन्द्रनगरको वडा नम्बर १ देखि १३ नम्बर वडामा कोरोना संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेको खड्काको भनाई छ । तर वडा नम्बर १४, १५ र १६ मा भने हालसम्म संक्रमितको संख्या शुन्य छ ।

वडागत तथ्याङ्कका आधारमा हेर्ने हो भने सबैभन्दा बढी वडा नम्बर ४ मा ५४, वडा नम्बर १२ मा ३९, वडा नम्बर ३ मा ३२, वडा नम्बर १० मा २३ जनामा कोरोना पुष्टी भएको खड्काले जानकारी दिए ।

उनकाअनुसार वडा नम्बर १ मा २२, वडा नम्बर २ मा १८, वडा नम्बर ११ मा १९, वडा नम्बर ९ मा १७, वडा नम्बर ७ मा १५, वडा नम्बर ६ र १३ मा १४/१४ र वडा नम्बर ८ मा १३ जनामा संक्रमण पुष्टी भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले विशेष गरि वडा नं. ४ मा परिक्षणको दायरा वढि भएकाले पनि संक्रमितको संख्यामा वृद्धि भएको बताए ।

वडा नम्बर ४ मा संक्रमितको संख्या ह्वात्तै बढेपछि वडा कार्यालयले टोलविकास संस्था र वडाबासीहरुलाई काम विशेष बाहेक घरबाहिर नजान आग्रह गरिएको वडाध्यक्ष निलकण्ठ खनालले जानकारी दिए ।

संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिकाको कोरोना व्यवस्थापन समितिसँग कसरी अगाडि बढ्ने र कोरोना न्यूनिकरणका लागि के कस्ता रणनिति अपनाउन सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको खनालको भनाई छ ।

आफ्नो टोलको सुरक्षा आफै गरौ भन्ने उदेश्यले केही युवाहरुको समुह बनाएर परिचालन गर्ने गृहकार्यमा जुटेको खनालले उल्लेख गरे ।

कसरी फैलियो संक्रमण ?
वडा नम्बर ४ मा कोरोना संक्रमित बढ्नुमा स्वास्थ्यकर्मीहरु पनि त्यहीँ क्षेत्रमा बसोबास भएकाले संख्यागत आधारमा बढी भएको जनस्वास्थ्य कार्यालय सुर्खेतका बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्ले बताउँछन् ।

‘स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुनु भएको छ, उहाँहरुको तथ्याङ्क वडामा रहन्छ यसआधार पनि संख्या बढेको हो’ वाग्ले भन्छन्, ‘समग्र नगरका सबै वडाहरुमा संक्रमण छ, संक्रमित सबै कन्ट्रयाक ट्रेसिङका हुन् ।’

हालसम्म कन्ट्रयाक ट्रेसिङकै आधारमा कोरोना पुष्टी भएकाले समुदायमा फैलने खतरा रहेको वाग्लेले जनाए ।

परिवारका एक व्यक्तिबाट अन्य आठ परिवारमा कोरोना
वाग्लेका अनुसार वीरेन्द्रनगर वडा नम्बर ४ मा कोरोना पुष्टी भएका मध्य परिवारका एक सदस्यबाट अन्य आठ जना घरपरिवारका सदस्यहरुमा कोरोना फैलिएको छ ।

‘एक जनामा कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्दै जाँदा उहाँको सम्पर्कमा रहेका अन्य आठ परिवारमा कोरोना फैलिएको देखिन्छ’ वाग्लेले थपे, ‘भित्रभित्रै फैलिरहेकाले आम नागरिक सचेत हुन जरुरी छ ।’

वडागत तथ्याङ्क
वडा नम्बर १ : २२ जना
वडा नम्बर २ : १८ जना
वडा नम्बर ३ : ३२ जना
वडा नम्बर ४  : ५४ जना
वडा नम्बर ५  : ११ जना
वडा नम्बर ६  : १४ जना
वडा नम्बर ७  : १५ जना
वडा नम्बर ८  : १३ जना
वडा नम्बर ९ : १७ जना
वडा नम्बर १० : २३ जना
वडा नम्बर ११ : १९ जना
वडा नम्बर १२  : ३९ जना
वडा नम्बर १३ : १४ जना
वडा नम्बर १४ : ०
वडा नम्बर १५ : ०
वडा नम्बर १६ : ०
कुल २९१ जना (स्रोत ः वीरेन्द्रनगर नगरपालिका, स्वास्थ्य शाखा)

तपाईको प्रतिक्रिया