एलपी ग्यास सिलिन्डरको धरौटी दुइ हजार एकसय

काठमाडाैं । खाना पकाउने एलपी ग्यास सिलिन्डरको धरौटी रकम अब २१ सय रुपैयाँ भएको छ । सिलिन्डरको मूल्यमा एकरूपता ल्याउन नेपाल एलपी ग्यास उद्योग संघले असोज २ देखि उक्त मूल्य निर्धारण गरेको हो ।

हाल मुलुकभर ५८ ग्यास उद्योग छन् । ती उद्योगको सिलिन्डर मूल्य रकम फरक–फरक छ । डिलरले २४ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

सिलिन्डरको धरौटी रकममा भइरहेको अन्योल चिर्न २१ सय रुपैयाँ निर्धारण गरिएको उनले बताए । ‘सिलिन्डरको मूल्य (धरौटी मूल्य) फरक–फरक हुँदा अभावका बेला सर्वसाधारण ठगिँदै आएका थिए,’ उनले भने, ‘अब बजार व्यवस्थित हुन्छ ।

सिलिन्डर बिक्री गर्दा धरौटी रकम २१ सयभन्दा बढी लिए कारबाही हुन्छ ।’ गुणस्तर तथा नापतौल विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसँग छलफल गरेरै धरौटी रकम निर्धारण गरिएको भण्डारीले बताए ।

नेपाल आयल निगमले १४ किलो ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ । अब ग्याससहितको सिलिन्डर किन्दा ३४ सय ७५ रुपैयाँ पर्छ । यसअघि मूल्यमा मनोमानी थियो । ‘सर्वसाधारणले यसअघि ४ हजारदेखि ४५ सय रुपैयाँसम्ममा खरिद गर्ने गरेका थिए,’ भण्डारीले भने, ‘अब रेटभन्दा बढी लिए कारबाही हुन्छ ।’ बढी मूल्यमा बिक्री गरे डिलर खारेजीदेखि थप कारबाहीका लागि सरकारलाई आग्रह गरिने उनले जनाए ।

संघले पहिलो चरणमा वाग्मती प्रदेशमा यो नयाँ नियम लागू गर्ने भएको छ । त्यसपछि क्रमशः नेपालभर कार्यान्वयन गरिने संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । बजार व्यवस्थित बनाउन एउटै सिलिन्डरमा ३ सय रुपैयाँ घाटा खाएर मूल्य तोकिएको उनको दाबी छ ।

‘संघले निर्धारण गरेको २१ सय रुपैयाँ परल मूल्य पनि होइन, एउटै सिलिन्डरमा ३ सय रुपैयाँ घाटा छ । धरौटी रकममा एकरूपता हुँदा सर्वसाधारणसँगै उद्योगी व्यवसायीलाई पनि सहज हुन्छ,’ घिमिरेले भने, ‘वाग्मती प्रदेशपछि चरणबद्ध रूपमा नेपालभर नै लागू गर्छौं ।’ ५८ ग्यास उद्योगीमध्ये २९ वटा वाग्मतीमा छन् ।

ती ग्यास उद्योगले उपत्यकालाई केन्द्रित गरी मार्केटिङ गरिरहेका छन् । सिलिन्डरको मूल्यसँगै बिल पनि अनिवार्य गरिएको छ । यसले पनि धरौटी फिर्ता गर्न सहज हुने संघले जनाएको छ । ग्यास सिलिन्डर खरिद (धरौटी) गर्दा रसिद नलिएका उद्योगको जवाफदेहिता नहुने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भनिएको छ, ‘उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रूपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन अनुरोध छ । रसिद नलिएका सिलिन्डरको दायित्व उद्योगले नलिने जानकारी गराइन्छ ।’

कुनै उद्योग/कार्यालय बन्द भए वा उपभोक्ता बसाइँ सराइ गरे सिलिन्डरको धरौटी रकम फिर्ता हुने अध्यक्ष भण्डारीले बताए । ‘तर त्यसका लागि रसिद अनिवार्य चाहिन्छ । रसिदबिना उद्योग जवाफदेही हुन्न,’ उनले भने । ग्यास उद्योगीकै आपसी प्रतिस्पर्धामा सिलिन्डरको मूल्य मनलाग्दी भएको ग्यास बिक्रेता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बताए ।

अहिले कतिपय कम्पनीले सिलिन्डर फिर्ता लिँदैनन् । जसका कारण सर्वसाधारणको घरमा सिलिन्डर डम्प भएको उनको भनाइ छ । सिलिन्डरको मूल्य तोक्नु आवश्यक भए पनि धरौटी रकम अझै केही कम भए राम्रो हुने उनले बताए ।

उपभोक्ताले ग्यास प्रयोग गर्न नचाहेको अवस्थामा सजिलैसँग धरौटी फिर्ता पाउनुपर्ने उनको भनाइ छ । यस क्षेत्रलाई व्यवस्थित गर्न डिलर प्रमाणीकरणमा पनि जोड दिनुपर्ने उनले बताए । संघका अनुसार मुलुकभर करिब ४ हजार डिलर छन् । तर ती डिलर प्रमाणीकरणबिनै सञ्चालनमा छन् । प्रमाणीकरण भए अनुगमन गर्न सजिलो हुने अध्यक्ष भण्डारीको भनाइ छ ।

‘प्रमाणीकरण भए डिलरको संख्या कति छ, कुन–कुन क्षेत्रमा छन् भन्ने अवस्था थाहा हुन्छ, सरकारलाई अनुगमन गर्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘थप व्यवस्थित बनाउन प्रमाणीकरणमा जानैपर्छ । यसमा संघले पनि सहयोग गर्छ ।’ यसअघि वाणिज्य विभागले ग्यास डिलर प्रमाणीकरण सुरु गरेको थियो । यसका लागि विभागले पटकपटक सूचना प्रकाशन गरे पनि अधिकाश बिक्रेताले प्रमाणीकरण गर्न चाहेनन् ।

तपाईको प्रतिक्रिया