स्याला घटनाको अनुसन्धान प्रतिवेदन फिर्ता

थप सबुत प्रमाणसहितको प्रतिवेदन ल्याउन निर्देशन

जाजरकोट । जिल्ला सरकारी वकील कार्यालय जाजरकोटले कर्तव्य ज्यान मुद्दाको अनुसन्धान प्रतिवेदन अपुरो भन्दै प्रहरीलाई फिर्ता गरेको छ । कार्यालयले आइतबार भेरी नगरपालिका ३, स्याँलाकी ४५ वर्षीय दुर्पती सुनारको हत्या प्रकरणको अनुसन्धान प्रतिवेदन फिर्ता गरेको हो ।

किटानी जाहेरी परी ९ जनामाथि २५ दिनसम्म अनुसन्धान भएको प्रतिवेदन कार्यालयबाट फिर्ता भएको छ । भरपर्दो अनुसन्धान नहुँदा उक्त मुद्दाको अभियोग अदालतमा दर्ता हुन सकेन । दुर्पती हत्या प्रकरणको थप अनुसन्धान गर्न र अपुरो सबुत प्रमाण संकलन गर्न मुद्दाको अनुसन्धान प्रतिवेदन फिर्ता गरेको जिल्ला सहायक न्यायाधिबक्ता रुकमेडा पोखरेलले बताइन ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३१ (४) बमोजिम प्रतिवेदन फिर्ता भएको र सम्बन्धित अनुसन्धान अधिकारीलाई थप अनुसन्धान गर्न निर्देशन दिएको सहायक न्यायाधिवक्ता पोखरेलले बताइन् । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकमा समाचार छापिएकाे छ ।

‘कमजोर अनुसन्धानका कारण हत्याराले उन्मुक्ति पाउने देखिँदा प्रतिवेदन फिर्ता गरेको हो, थप सबुत प्रमाणसहितको प्रतिवेदन ल्याउन निर्देशन पनि गरेको छु,’ उनले भनिन् । कमजोर अनुसन्धानका कारण उक्त मुद्दाको अभियोग अदालतमा दर्ता नगरेको उनले बताइन् ।

दुर्पतीको हत्या भएको १ महिनापछि गत भदौ १८ गते मृतकका छोरा विजय बिक र छोरी पर्सा बिकले ७ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । दुर्पतीको गत साउन १३ गते बर्बर हत्या भएको थियो । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै तत्काल जाहेरी लिन नमानेको र किटानी जाहेरी दर्ता भएपछि पनि भरपर्दो अनुसन्धान नगरेको पीडित पर्साले बताइन् ।

राजनीतिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुँदा दोषीले उन्मुक्ति पाउने गरी अनुसन्धान प्रतिवेदन तयार भएको उनले बताइन् । पीडितलाई नै फसाउने गरी प्रतिवेदन तयार भएको उनको गुनासो छ ।

पर्सा र विजयले आफ्नी आमाको हत्यामा संग्लग्न भन्दै भेरी नगरपालिका ३, स्याँलाका जीतबहादुर सुनार, गुलाव सुनार, मुन्नी सुनार, अनुप विक, कल्पना विक, डण्डबीर विक र रविन्द्र सुनारका नाममा किटानी जाहेरी दिएपछि प्रहरी उनीहरुलाई नियन्त्रणमा लिएर २५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

उक्त घटनाका आरोपी अनुप विकको पोलबाट मृतकका पति पदमराज विक र अनुसा नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । हत्या प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक यामबहादुर मल्ललाई अनुसन्धान अधिकारी तोकेको थियो ।

हत्याकाण्डको अनुसन्धान गर्न किटानी जाहेरी तथा पोलबाट नियन्त्रणमा लिएका ब्यक्तिलाई आइतबार नै माथबरका ब्यक्तिको जिम्मा जमानीमा छाडेको प्रहरी निरीक्षक मल्लले बताए । हत्यापछि दुर्पतीको शव घर नजिकैको जंगलमा फेला परेको थियो । घरमा एक्लै भएको मौका छोपी दुर्पतीको टाउको र गर्धनमा समेत धारीलो हतियार प्रहार गरी हत्या भएको थियो ।

सरोकारवाला निकायले उक्त हत्या घटनालाई गम्भीर रुपमा नलिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । अनुसन्धान प्रक्रिया निकै फितलो हुँदा अपराधी उम्काउने खेल भएको शाहको भनाइ छ । ‘जस्का कारण समाजमा दण्डहिनता र अपराधका घटना बढ्दै जान्छन््,’ उनले भने । प्रभावकारी अनुसन्धानको अभावमा दोषीले उज्मुक्ति पाउने निश्चित भएको उनले बताए ।

तपाईको प्रतिक्रिया