अवैध घरेलु मदिरा र कच्चा पदार्थ नष्ट

सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटले बरामद गरेको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।


कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाएर राखेका घरेलु मदिरा एक सय पाँच लिटर, मदिरा बनाउन आवश्यक कच्चा पदार्थ एक सय ८५ लिटर र मदिरा बनाउने भाँडा तीन सेट बरामद गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई जनकबहादुर भण्डारीले जानकारी दिए ।

अवैध घरेलु मदिरा लुकाउने व्यापारीहरुलाई पहिलो पटक चेतावनी दिइर छाडिएको भण्डारीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सल्यानले पर्व लक्षित अवैध घरेलु मदिरा नियन्त्रण अभियान जिल्लाभर सञ्चालन गरिरहेको छ ।

छ्यापछ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले नियन्त्रणका लागि विशेष अभियान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया