यी हुन्, नेपाल चिनाउने कलकत्ते चेली (भिडियो)

काठमाडौँ । मान्सी अग्रवाल १४ वर्षअघि कलकत्ताबाट नेपाल आइपुग्दा २१ वर्षकी मात्रै थिइन् । जब काठमाडौँमा ओर्लिइन् आसपासका पहाड र मनमोहक प्राकृतिक दृश्यले उनको मन लोभ्यायो । यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले यी भारतीय युवतीलाई आकर्षित गर्‍यो ।

त्यसो त, उनका पतिले सुरुका दिनहरुमै भक्तपुर दरबार स्क्वायर र अरु सम्पदा क्षेत्रतिर डुलाएका थिए । उनका पति, जो एक नेपाली युवक हुन् ।

तर त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् । उपत्याका बाहिरका मानिसको परम्परागत जीवनशैलीबाट त उनी यति धेरै प्रभावित भइन् कि, आङ नै सिरिङ्ग पार्ने खालको ।

‘म मूल रुपमा कलकत्ताको मान्छे । जब म २१ वर्षकी थिएँ, नेपाली युवकसँग विवाह गरेँ । र नेपाल मेरो दोस्रो घर भयो । काठमाडौँ मेरो पति बसोबास गर्ने सहर । पछि म पनि उनीसँगै बस्न थालेँ । जसले मलाई मोहित बनायो,’ मान्सीले भनिन् ।

उनका पति काठमाडौँमै एक उद्यमी थिए । काठमाडौँमा पतिको साथ बस्न थालेपछि मान्सी उनीसँगै बारम्बार बाहिर घुम्न जान थालिन् । काठमाडौँका रेष्टुरेण्टहरु जानु उनलाई सामान्य नै भयो । यस्तै बौद्ध, ठमेल, दरबारमार्ग लगायत काठमाडौँका पर्यटकीय क्षेत्र पुग्दा उनलाई खुसी मिल्थ्यो ।

बिस्तारै उनलाई आफ्ना निकट साथी र आफन्तहरुलाई पनि यस्तो विशेष ठाउँमा ल्याउने इच्छा भयो । विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज र पोखरा लगायत ठाउँ घुमेपछि त उनी झनै लालायित भइन् ।

‘म यहाँका वनस्पति, जीवहरु, जैवीक विविधता, भौगोलिक संरचनाहरुबाट असाध्यै अभिभुत भएँ । मैले यस्ता चिजहरुमाथि अनुसन्धान पनि गरेँ । ठीक त्यही समयमा मभित्र फोटोग्राफीप्रति विशेष जाँगर पलायो । मलाई लाग्यो कि, म यस्तो राम्रो ठाउँमा बसिरहेको छु भने यसलाई क्यामेरामा कैद गर्न किन छुटाउँ,’ मान्सीले भनिन् । मान्सी अहिले त ८ वर्षको सन्तानको आमा समेत हुन् ।

उनले त्यसबेला नै कलकत्तामा रहेका साथीहरु र आफन्तलाई नेपाल घुम्न बोलाउन थालेकी थिइन् । ‘मलाई लाग्थ्यो कि, यदी उनीहरु नेपाल आएनन् भने धेरै चिज गुमाउनेछन् भन्ने लाग्थ्यो,’ उनले भनिन् ।

तर साथीहरुले वास्तै गरेनन् । उनीहरुले मान्सीलाई सुनेनन् । उनीहरु राम्रो राख्न मात्रै आउँछु चाहिँ भनिदिन्थे तर आउँदैनथे । २०१९ मा मान्सीले उनीहरुलाई नेपालले आगामी वर्ष, अर्थात् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ आयोजना गरेको कुरा सुनाइन् । यतिबेला भने उनका साथी र आफन्त मुस्किलले नेपाल आउन तयार देखिए ।

‘मेरी आमा कहिलेकाहीँ मलाई भेट्न आउनुहुन्छ । मेरो दाई यो ठाउँ मन पराउँछ । अरु परिवारका सदस्यहरु पनि आउनुहुन्छ । तर म आफ्ना स्कुले साथीहरु र ठूलो साथी सर्कललाई यो ठाउँको अनुभव दिलाउन चाहन्छु । यसैले म बारम्बार उनीहरुलाई कृपया आऊ कृपया आऊ भन्दै बिन्ती गरिरहन्थेँ,’ मान्सीले हाँस्दै सुनाइन् ।

https://www.facebook.com/watch/?ref=external&v=623273015035610

तपाईको प्रतिक्रिया