सुर्खेतमा यसरी भित्र्याइयो फूलपाती (भिडियो)

सुर्खेत । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । सुर्खेतमा पनि पुजारीसहित सुरक्षा निकायहरुले फुलपाती भित्र्याएका छन् । मंगलगढीस्थित सैनिक महाविद्यालयमा रहेको दशैँ घरबाट फूलपाती लिएर जिल्ला प्रशासन कार्यालयमा भित्र्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विधिवत पूजा गरेर फुलपाती भित्र्याएका हुन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने चलन छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता पनि छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए ।

‘केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया