बहुप्रतिक्षित ‘चौघान पार्क’ निर्माण शुरु, तीन वर्षमा काम सक्ने लक्ष्य (भिडियो)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बहुप्रतिक्षित चौघान पार्क निर्माणको काम शुरु गरिएको छ । वीरेन्द्रनगर–७ स्थित सामाजिक विकास मन्त्रालयको पूर्व–दक्षिणमा रहेको खाली चौहरमा चौघान पार्क निर्माणको काम थालिएको हो ।

पहिलो चरणमा पार्कको पर्खाल र गेट निर्माणको काम शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेत डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनकअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको एक करोड ७१ लाख लागतमा पार्क निर्माणको काम शुरु गरिएको छ । गत आर्थिक वर्षमा पार्कको टेण्डर प्रक्रिया शुरु गरिएपनि चालु आर्थिक वर्षको भदौदेखि पर्खालको काम जारी रहेको डिभिजनल वन अधिकृत दाहालको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिकाको डिजाईन तथा मास्टर प्लानअनुसार नै पार्क निर्माण गरिनेछ । मन्त्रालयले याे वर्ष दुई करोड २१ लाख बजेट विनियोजन गरेकाे छ । बहुवर्षिय योजनामा रुपान्तरण गरेर तीन वर्षमा काम सक्नेगरी पहिलो चरणमा मजदुर कन्ट्रक्सनले वाल र गेट निर्माणको जिम्मा पाएको छ ।

प्राविधिक जिम्मा भने वीरेन्द्रनगर नगरपालिकाले हेरिरहेकाे छ । ‘यो वर्ष पर्खाल र गेट निर्माण गर्ने तथा अर्को वर्ष पार्कको अन्य काम थाल्ने योजनामा छौं’ डिभिजनल वन अधिकृत दाहालले भने, ‘बहुवर्षिय योजनामार्फत काम अघि बढाउन मन्त्रालयलाई समेत पत्राचार गरिरसको छौं ।’ चौघान पार्क झण्डै चार विगाहमा निर्माण गरिने उनकाे भनाई छ ।

तपाईको प्रतिक्रिया