रारा घुम्नआएका युवाः

जो कर्णालीमै बसेर उद्यम गर्न थाले (भिडियोसहित)

सुर्खेत । हरेक वर्ष लाखौं पर्यटक मुगुको राराताल भित्रिन्छन् । चाहे ती आन्तरिक हुन्, या बाह्य । स्वर्गकि अप्सरा उपनामले चिनिने रारामा पुग्ने जो सुकैलाई, जसरी त्यहाँको प्राकृतिक सौन्दर्यताले मन्त्रमुग्ध पार्छ । त्यसरी नै उनीहरुलाई कर्णालीको अपार संभावनाले आकर्षण गर्छ ।

रारा घुम्न आउने अधिकांश पर्यटकहरु घुम्नकै लागि मात्र सिमित नभई कर्णालीको सभ्यता, संस्कार, स्रोत सधान र यहाँको संभावना अध्ययन गर्न आएका हुन्छन् । अध्ययनपछि कतिपयले संभावना देख्दादेख्दै कर्णालीमा बसेर काम गर्ने मौका पाएका छैनन् । भने कतिपयले कर्णालीमै विभिन्न व्यवसाय गरेर बसेको प्रसस्त उदाहरण छन् ।

यी र यस्तै मध्येका उदाहरणीय युवा हुन् । माधव धिताल, जयकृष्ण सापकोटा र सुमन घोडासैनी । घर फरक फरक जिल्ला भएपनि विगत तीन वर्षअघि व्यवसायीक सिलशिलामा काठ्माडौंबाट रारा घुम्न आएका उनीहरुलाई कर्णाली छोड्नै मन लागेन । लामो समयदेखि काभ्रेको पाँचखाल र काठमाडौंमा डेरी उद्योग सञ्चालन गर्दै आएका उनीहरुलाई कर्णाली प्यारो लाग्न थाल्यो । अन्ततः यहाँको बजार अध्ययनपछि उनीहरु कर्णाली प्रदेश राजधानी सुर्खेतमै बसेर डेरी उद्योग सञ्चालन गर्ने निर्णयमा पुगे ।

अहिले उनीहरुले सञ्चालन गरेको सुर्खेत डेरी उद्योगको रारा ब्राण्डको दुध, दहीले बजार तताएको छ । सुर्खेत औधोगिक क्षेत्रमा अध्याधुनिक उपकरणको प्रयोग गर्दै सञ्चालन ल्याएको डेरी उद्योगले ग्राहकको मन जित्न सफल भएको छ । बार्षिक १३ हजार भाडामा ४० वर्षसम्मका लागि लिजमा लिएर उद्योग स्थापना गरिएको हो ।

तर सुर्खेतको अनियमित विद्युत समस्याका कारण डेरी उद्योग सञ्चालनमा कठिनाई हुदाँ महंगोमा जेनेटर चलाउनु पर्ने बाध्यता छ । ‘विगत १५ वर्षदेखि हामी यही व्यवसायमा थियौ । तर रारा घुम्न आउँदा यहाँको अवस्था बुझियो । गाउँमा दुध फालाफाल तर बजारमा किनेर खान नपाईने अवस्था रहेछ’ डेरी सञ्चालक माधव धितालले भने, ‘त्यसपछि हाम्रो अध्ययनले यही लगानी गरेर उद्यम गर्ने निर्णय गर्‍यो ।’

डेरी सञ्चालनका लागि विभिन्न उपकरण तथा गाडी खरिद सहित १५ करोड बढी लगानी भएको छ । हाल वीरेन्द्रनगरका विभिन्न स्थानमा स्थापना भएका चार वटा बिक्रि केन्द्रबाट दुध, दही बिक्रि भइरहेको छ । भने चालु आर्थिक वर्षभित्रै थप बिक्रि केन्द्र स्थापना गर्ने तयारी छ । अहिले ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आगामी वर्षदेखि ६० जनासम्मलाई रोजगारी दिने गरी रणनीति बनाईएको सञ्चालक धितालले बताए ।

‘अहिले हामी घाटामै छौ । टाढाटाढाबाट दुध ल्याउनुपर्छ । कत्ति पटक काभ्रेको दुध यहाँ ल्याएका छौ । त्यसैमा कोरोना माहामारीले समस्या बनायो’ नेपाली रैबारसँग उनले थपे, ‘विस्तारै अब यहाँकै दुधले बजार माग पुर्ती गर्ने संभावना छ । अब हामी दुध, दहीसँगै दुधका मिठाई लगाएत विभिन्न परिकार ल्याएर आउनेछौं ।’

उनका अनुसार विगतका महिनामा सुर्खेतबाट दैनिक दुई सय लिटर आयात हुने दुध अहिले दैनिक १२ सय लिटर नाघेको छ । विशेषगरी दैलेख, सुर्खेत र सल्यानबाट डेरीमा दुध आयात हुन्छ । ‘प्रदेश सरकारले हामीलाई भन्दा कृषकलाई गाई, भैंसी पालनमा अनुदानसहित सहयोग गर्न जरुरी छ । यहाँ पशुपालनका लागि प्रसस्त भुभाग छ’ उनले भने, ‘हामी समुह सहकारीमा पनि गएर कृषकसँग छलफल गर्छौ । तर उनीहरुलाई पशुपालनबाट जीविकोपार्जन गर्न थोरै भएपनि सहयोगको खाँचो छ ।’

डेरीमा प्राप्त दुधको मापदण्ड हेरेर कृषकलाई मुल्य निर्धारण गर्ने गरिएको छ । त्यसका लागि डेरीमा दुध ल्याब टेष्ट पनि गरिन्छ । आगामी वर्षदेखि यहाँ बजार माग पुर्ती भएको खण्डमा यहाँको दुध प्रदेश नं ३ सम्म लिएर बिक्रि गर्ने योजना सुर्खेत डेरी उद्योगको छ ।

 

error: Alert: Content is protected !!