कर्णालीमा कोरोना संक्रमित बढेका बढ्यै, एकै दिन ६७ जनामा पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ५९, कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पाँच र रुकुमपश्चिममा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमध्य सुर्खेतका ४७, कालिकोटका ६, हुम्ला, रुकुमपश्चिम, जुम्ला र सल्यानका तीन/तीन तथा दैलेखका दुई जना छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार एक सय चार पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ५१ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार आठ सय ८० छ ।

कर्णालीका विभिन्न जिल्लाहरुमा रहेको आइसोलेसनमा संक्रिया कोरोना संक्रमितको संख्या भने सात सय १८ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलको भनाई छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया