‘कांग्रेस सांसदहरु दशैं भत्ता कोरोना कोषमा फिर्ता गर्दैछन्, सरकार कुम्भकर्ण निन्द्रामा छ’

सुर्खेत । नेपाली कांग्रेस पाटीबाट सरकारमा नेतृत्व गर्ने सांसदहरुले दशैं भत्ता नलिने भएका छन् । आम नागरिकहरु कोरोना माहामारीको चपेटामा परिरहेका बेला कांग्रेसका सांसदहरुले दशै भत्ता नलिने तयारी गरेका हुन् ।

सांसदहरुले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा हुने गरी भत्ता फिर्ता गर्ने तयारी गरिएको हो ।कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका अनुसार नेपाली कांग्रेस संसदिय दलले भत्ता फिर्ताबारे आजै संस्थागत निर्णय गर्ने भएको छ ।

‘कांग्रेसका सांसदहरुले दशैं भत्ता नलिई जनताको उपचारका लागि कोरोना कोषमा जम्मा हुने गरी भत्ता फिर्ताको निर्णय गर्न लागेका छौ’ उनले भने, ‘यो कदम जनभावना अनुकुलको हुनेछ । आम नागरिकलाई कोरोनाले सताएको छ । सांसद भत्ता बुझेर खुसी हुन सक्दैनन् ।’ साथै उनले चाडवाडमा जमघटले कोरोना फैलनसक्ने भन्दै सावधानी अपनाएर आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरे ।

‘कोभिड संक्रमणको महामारीले सिङ्गो देश आक्रान्त छ । सरकार कुम्भकर्ण निन्द्रामा आन्तरिक धन्दामै व्यस्त छ । सरकारलाई अहिले न जनताको चिन्ता छ, नत देशको नै ?’ नेपाली रैबारसँग उनले थपे, ‘सत्ताधारी पार्टी ७ महिनादेखि सत्ताको आन्तरिक छिनाझप्टि र लुछाचुडिमा व्यस्त छ । यो विपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री ? खोई सरकार ? खोई राहत प्याकेज ? न जिम्मेवारी बोध छ ? न जनतालाई कुनै भरोसाको सन्देश छ । यो अकर्मण्यता र मौनता दुर्भाग्यपूर्ण हो ।’

तपाईको प्रतिक्रिया