मुम्बईलाई हराउँदैं हैदरावाद आइपीएल क्रिकेटको प्ले अफमा

काठमाडौं । साविक विजेता मुम्बई इण्डीयन्सलाई १० विकेटले हराउँदै सनराईजर्स हैदरावाद आइपीएल टी–ट्वेन्टी क्रिकेटको प्ले अफ्मा पुगेको छ । हैदरावादको जितसँगै अर्को टोली कोलकाता नाइट राईडर्स भने रन रेटमा पछि पर्दै समुह चरणबाटै बाहिरिएको छ ।

युएईको सारजाहमा हिजो भएको लिग चरणको अन्तिम खेलमा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना कुनै विकेटको क्षतिमा पुरा गर्‍यो । हैदराबादका लागि डेभिड वार्नर ८५ रन तथा रिद्दिमान साहा ५८ रनमा अविजित रहे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

उसका लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । पराजित भएको मुम्बई इण्डीयन्सले यसअघि नैं अंक तालिकामा शिर्ष स्थान सुरक्षित गरिसकेको थियो ।

गएरातिको खेलसँगै आइपिएल क्रिकेटको प्ले अफ् समिकरण पूरा भएको छ । शिर्ष स्थानको मुम्बईले आइतबार हुने पहिलो क्वालिफायरमा दोस्रो स्थानको दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।विजेता टोली फाईनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफयार खेल्ने मौका पाउनेछ । शुक्रबार हुने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरले हैदरावादको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया