तयार भयाे कर्णालीकै अत्याधुनिक सभाहल, बैशाखमा हस्तान्तरण गरिने

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको सभा हलको काम अन्तिम चरणमा पुगेको छ । २०७३ चैत २४ गतेदेखि निर्माण भइरहेको निर्माण भइरहेको सीटी हलको काम अन्तिम चरणमा पुगेको हो ।

सभा हलको वरिपरि बगैंचा निर्माणको काम मात्रै बाँकी रहेको छ । बगैंचा निर्माण सक्नेबित्तिकै इकइलाई भवन हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनी समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइले जेभीसँग सम्झौता गरेको चार वर्ष नपुग्दै सुर्खेतमा अत्याधुनिक सभा हल अन्तिम चरणमा पुगेको हो ।

यो हल निर्माण भएसँगै प्रदेश राजधानीमा ठूला कार्यक्रम आयोजना गर्नका लागि होटल धाउनुपर्ने अवस्था अन्त्य हुने छ भने होटलमा हुने अनावश्यक खर्च पनि कम हुनेछ ।

भ्याटबाहेक २० करोड ५४ लाख ८६ हजार रुपैयाँमा सम्झौता गरी काम थालेको निर्माण कम्पनीले २०७६ चैत २३ गते सभा हल हस्तान्तरण गर्नुपर्ने थियो तर लकडाउनका कारण समयमै कामदार र सामग्री पाउन नसकेपछि त्यो समयमा हस्तान्तरण गर्न नसकिएको कम्पनीको दाबी छ ।

निर्माण कम्पनीका प्रतिनिधि चन्द्रनारायण पण्डितले लकडाउनका कारण निर्माण कार्य समयमै पूरा गर्न नसकिएको नेपालीरैबारलाइ बताए ।

‘हामीसँग भएका दक्ष जनशक्ति लकडाउनका कारण बिदामा जानुपर्ने अवस्था आयो । निर्माण सामाग्री पनि जुटाउन समस्या भयो,’ उनले भने, यही कारणले यही असोजमा नै हस्तान्तरण गरिसक्ने योजना तुहिएको हो ।’

यता, कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रामकृष्ण आचार्यले सिटीहल निर्माणको भौतिक र वित्तीय प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको बताए ।

उनका अनुसार भवन निर्माणको काम सम्पन्न भइसकेको छ भने रंगरोगन गर्न थोरै बाँकी छ । अब साउण्ड व्यवस्थापन को काम बाँकी छ । यस्तै जमिन व्यवस्थापन गरेर पार्किङ तथा बगैँचा निर्माणको काम भइरहेको छ ।

उनले भने, ‘उनीहरूलाई लकडाउनले समस्या पारेको थियो । यो असोजमा ६ महिनाका लागि हामीले म्याद थप गरेका छौं । नयाँ वर्षमा हामी कर्णालीलाई अत्याधुनिक सभा हल हस्तान्तरण गर्छौं ।’ उनले सिटी हलमा ७८० जनाको सिट अट्ने बताए ।

‘यो कर्णालीकै सबैभन्दा ठूलो हल हो । यहाँ ७५० जनाको सिट डिजाइन गरेको भएपनि ७८० जनाको सिट अट्ने देखिएको छ,’ उनले भने, एक सय पचास जनाभन्दा बढी अट्ने दुईवटा मल्टिप्रपोज हल पनि तयार भएका छन् ।’

उनका अनुसार चीनबाट मार्बल आयात गर्न निर्माण कम्पनीले अर्डर गरिसकेको छ भने भारतबाट मिस्त्री ल्याउने काम भइरहेको छ । चीनबाट सामाग्री आउन र भारतीय जनशक्तिले काम सम्पन्न गर्न तीन महिना लाग्नेछ ।

अबको तीन महिनामा सामग्री सुर्खेत आइपुग्ने छ । सामग्री आएको तीन महिनामा नै हल तयार भएर नगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ ।

उनले हल तयार भइसकेपछि त्यसको रेखदेख र सञ्चालनका काम नगरपालिकाको हुने बताए । ‘हामीले निर्माण गर्ने मात्र हो’, उनले भने, ‘यसको रेखदेखदेखि सबै व्यवस्थापन वीरेन्द्रनगर नगरपालिकाले गर्नेछ ।’

झण्डै साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको नमूना सभा हलको क्षमता ७ सय ८० जनाको छ ।

यसमा सातवटा बैठक कक्ष हुनेछन् । सभा हल परिसरमा ४ सय मोटरसाइकल र दुई सयवटा गाडी पार्किङ गर्न मिल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया