दैलेखमा जीप दुर्घटनाहुँदा तीन जना घाइते 

सुर्खेत । मध्यपहाडी लोकमार्गको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ फलाकाँधमा जीप दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा चामुण्डाविन्द्रासैनी–१ का ४२ वर्षीय डीला विक, २२ वर्षीय लक्ष्मी विक र ३२ वर्षीय पदम नेपाली घाइते भएका हुन् ।

सुर्खेतबाट चामुण्डा जाँदै गरेको भे १ त १९१८ नम्बरको जीप गएराती ११ बजे दुर्घटना भएको प्रहरी चौकी चामुण्डाका सइ मोहन पुजराले जानकारी दिए । घाइतेको उद्धार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको सई पुजराको भनाई छ ।

गुडिरहेको जीपको हेडलाइट एक्काशी बन्द भएको र बनाउने क्रममा आफै अघि बढ्दा सडकमा पल्टिएको पुजराले जानकारी दिए ।

यस्तै, सोमबार दुल्लु नगरपालिका–८ हुडिखोलामा ट्याक्टर दुर्घटनाहुँदा सह–चालक घाइते भएका छन् । पराल लोड गरेको ट्याक्टर रोडबाट एक सय ५० मिटर तल खस्दा दुल्लु नगरपालिका–९ पादुकाका १७ वर्षीय एकेन्द्र खत्री घाइते भएका हुन् ।

उनको अवस्था गम्भीर रहेको र दुल्लु अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । चालकलाई भने ईलाका प्रहरी कार्यालय दुल्लुले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया