कर्णालीका ९० हजार जनाको कोरोना परीक्षण, २४ घण्टामा ४७ संक्रमित थप

सुर्खेत । कर्णालीमा हालसम्म ८९ हजार नौ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ । यीमध्य ६ हजार तीन सय ९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ छ । योसंख्या पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका थप ४७ जनासहितको हो ।

हालसम्म कर्णालीमा गरिएको कुल परीक्षणमध्य ८२ हजार चार सय ३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको समाजिक विकास मन्त्रलायको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका ४७ जनामध्य २४ जना सुर्खेतका, दुई-दुई जना जाजरकोट, दैलेख र जुम्ला, एक जना रुकुमपश्चिमका तथा १६ जना अन्य प्रदेशका छन् । प्रदेश अस्पताल-पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको शाहीको भनाई छ ।

कोरोना जितेर पछिल्लो २४ घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या पाँच हजार ६ सय एक पुगेको छ ।

जिल्लागत आधारमा हालसम्म कोरोना संक्रमित हुनेमध्य सुर्खेतका दुई हजार ७०७, दैलेखका एक हजार ५४९, सल्यानका ५२२, जुम्लाका ३४२, कालिकोटका ३०७, रुकुम पश्चिमका १९०, जाजरकोटका ११२, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना छन् । कर्णालीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्य १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया