लेजर पद्धतीबाट पत्थरीको अप्रेशन अब सुर्खेतमै

सुर्खेत । मृगौलामा पत्थरी भएमा कयौं नागरिक अप्रेशन गर्नुपर्ने झण्झटले बिरामी त्यसै बस्ने बाध्य छन् । लेजर पद्धतीबाट पत्थरी निकाल्ने प्रविधि नहुँदा कतिपय नागरिकहरु शरीरमा ढुंगा बोकेर हिड्नुपर्ने बाध्यता छ । तर कर्णाली प्रदेश अस्पतालले पत्थरी भएका बिरामीहरुको सहजताका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको छ ।

मृगौलाको पत्थरी निकाल्नका लागि एक करोड २७ लाखमा लेजर प्रविधि मेशीन भित्र्याएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।

होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीलाई सेवा प्रवाह गर्नमा थप सहज भएको उनको भनाई छ । उनकाअनुसार यस प्रविधिले ढुङ्गालाई सिधै धुलो बनाई सिँधै पिसाबका माध्यमबाट बाहिर पठाउने गर्छ ।

‘यस प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं,’ खड्काले भने, ‘यसबाट पीसाब नलीबाट रगत बग्ने समस्याको निराकारण हुन्छ र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अप्रेशन गर्न सहज हुन्छ ।’ झण्डै १४ वर्षदेखिको सपना आज साकार हुन पुगेको खड्का बताउँछन् ।

‘सबै खाले सर्जरी पनि खास गरी ल्याप्रस्कोपी र यूरो सर्जरीलाई अघि बढाउनमा क्षेत्रीय अस्पतालहुँदै प्रदेश अस्पतालमा अनबरत सेवा दिँदै आएका थियौं,’ प्रा.डा. खड्काले भने, ‘हाल लेजर पद्धतीबाट गरिने यूरो सर्जरीको शुरुवात गरेका छौं । चिफ कन्सल्टेन्ट सर्जन प्रा.डा. गणेश थापा, डिपार्टमेन्ट र अस्पताल परिवारलाई बधाई दिन चाहन्छु ।’

नागरिकलाईहरुलाई प्रभावकारी सेवा दिने उदेश्यले अस्पतालले पछिल्लो पटक दक्ष जनशक्तिसहित आवश्यक उपकरण विस्तारमा तिव्रता दिएको प्रा.डा. खड्का बताउँछन् । उनले छालाको अप्रेशन गर्न लेजरप्रविधि पनि भित्र्याउन लागेको जनाए ।

तपाईको प्रतिक्रिया