बालक मृत्यु प्रकरण

सिडिओसहितको टोली पीडितको घरमा, आन्दोलन नगर्न अपिल

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी मोटरसाईकलले ठक्कर दिएर मृत्यु भएका बालकको घरमा सिडिओसहितको टोली पुगेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको टोलीले पीडित परिवारको घरमा पुगेर आन्दोलन नगर्न अपिल गरेका छन् ।

फरार रहेको मोटरसाईकल र चालक सीसी टिभी क्यामरामा रेकर्ड भएकाले खोजी भइरहेको जानकारी प्रमुख जिल्ला अधिकारी रेग्मीले पीडित परिवारलाई गराएका छन् ।

‘घटनाप्रतिस्तव्ध छु, आन्दोलन समाधानको उपाय हैन्, बरु प्रहरीलाई सहयोग गर्नुहोस्,’ प्रजिअ रेग्मीको भनाई उदृत गर्दै स्थानीय युवा नेता दिनेश खत्रीले भने, ‘प्रहरीले आफ्ना सबै सयन्त्र परिचालन गरिरहेकाले चाडै नै मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिन्छौं, आन्दोलन गर्नै परे शान्तिपूर्ण आन्दोलन गरिदिन मेरो आग्रह छ ।’

खत्रीकाअनुसार आफन्तले बाँगेशीमलमा शान्तिपूर्ण आन्दोलन गर्ने, क्षतीपूर्ती र कारवाहीका विषयमा दवाव दिने तयारी गरिरहेका छन् ।

उग्र आन्दोलनले समाधान नहुने र थप क्षती हुने भएकाले खोजी कार्यमा साथ दिन अपिल गर्न प्रजिअसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्ट, सशस्त्र प्रहरीका प्रमुख पीडितको घर पुगेका हुन् ।

वीरेन्द्रनगर–१ धारापानीका तीन वर्षीय बालक समिर नेपालीलाई जिल्ला प्रहरी कार्यालय अगाडी मोटरसाईकलले ठक्कर दिएर फरार छ ।

दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा मंगलबार बाटोमै मृत्यु थियो । आफन्तले तत्काल फरार मोटरसाईकल र चालकलाई पक्राउ गरेर कारवाहीको माग गर्दै बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया