सुर्खेत विमानस्थल विस्तार गर्ने बाटो खुल्यो, ३० विगाह जग्गा अधिग्रहण गरिँदै

सुर्खेत । लामो सयमपछि सुर्खेत विमानस्थल विस्तार गर्ने बाटो खुलेको छ । सरकारले सुर्खेत विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको हो । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने ३० विगाह जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ ।


सुर्खेत विमानस्थलको बिस्तार तथा स्तरोन्नति गर्न गत असोजमा संघीय र प्रदेश सरकारबीच सम्झौता भइसकेको छ ।

सुर्खेतस्थित विमानस्थलको विकास, बिस्तार र स्तरोन्नती गरी आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठूला जहाज लैजाने योजना छ ।

नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थलको बिस्तारका लागि सम्झौता भएको हो ।

आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण, रनवे बिस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक निर्माण काम गर्ने योजना छ ।

सम्झौताअनुसार विमानस्थलको धावनमार्ग १५ सय मिटरसम्म विस्तार गरिने छ । जग्गा अधिग्रहणमा लाग्ने ५० प्रतिशत रकम प्रदेश सरकारले बेहोर्ने छ । ५० प्रतिशत रकम भने केन्द्र सरकारले बेहोर्ने गरी सम्झौता भएको छ ।

तपाईको प्रतिक्रिया