मध्यराती चाइनापुलमा भयंकर जीप दुर्घटना, चालक घाइते (भिडियो)

दुर्घटना न्यूनिकरण गर्न थप जनशक्ति माग

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गएराती १२ बजे भयंकर जीप दुर्घटना भएको छ । यरिचौकबाट मंगलगढी चौकतर्फ जाँदै गरेको लु १ च ८३६२ नम्बरको जीप फोरलेन सडक खण्डको चाइना पुलको डिभाइडरमा ठोक्कीएको हो ।

सम्बन्धीत समाचार
चाइनापुलमा अटोलाई ठक्कर दिएर गाडी फरार, चालक घाइते
भयानक अटोरिक्सा दुर्घटना सीसी क्यामरामा रेकर्ड (भिडियाेसहित)
चाइनापुल दुर्घटना : बसले नै अटोरिक्सालाई ठक्कर दिएको पुष्टि

तिव्र गतिमा गुडिरहेको जीप सिँधै चाइनापुलको पश्चिम डिभाइडरमा ठोक्किएर तीन सय मिटर पूर्वतर्फ पुगेर सडक किनारामा पल्टिएको भिडियो सीसी क्यामराले रेकर्ड गरेको छ । जीप ठोक्किएपछि आगोका झिल्का समेत देखिएको छ । तर जीपमा भने आगलागी भएन् ।

बराहताल गाउँपालिका–१० घर भएका चालक २५ वर्षीय दिपक गौतम सामान्य घाइते छन् । सीसी टिभी क्यामरामा दुर्घटना भयंकर देखिन्छ तर मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । गत सोमबार साँझ चाइना पुलमै बसको ठक्करबाट अटोरिक्सा खोर्के खोलामा खसेको थियो ।

उक्त घटनामा समेत चालक घाइते भएका थिए । प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी चाप बढेसँगै दुर्घटना वृद्धिहुँदा ट्राफिकलाई थप चुनौती थपिदिएको छ ।

तर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले भने दुर्घटना न्यूनिकरण गर्न थप जनशक्ति माग गरिएको बताउँछन् । ‘दुर्घटना हुँदै नहुने भन्ने हुँदैन तर न्यूनिकरण गर्न ट्राफिक प्रहरी लागि परेको छ,’ आचार्य भन्छन्, ‘सडकमा हिड्ने पैदल यात्री, सवारी चालक र नागरिकहरुले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनामा वृद्धि भइरहेको छ ।’

सडक दुर्घटना न्यूनिकरण गर्न थप जनशक्ति मागसँगै ट्राफिक सचेतना फैलाउन चालकसँग एक मिनेट कार्यक्रमलाई तिव्रता दिएको आचार्यको भनाई छ । केही दिनमै ट्राफिक सचेतना फैलाउन यात्रुसँग एक मिनेट कार्यक्रम शुरु गर्न लागिएको आचार्यको भनाई छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा जिल्लाभर ५२ जना ट्राफिक प्रहरी कार्यरत छन् । यीमध्य २७ जना वीरेन्द्रनगरमा कार्यरत छन् । वीरेन्द्रनगरमा ट्राफिक प्रहरीको संक्रियता बढाएर दुर्घटना रोक्न नजिक–नजिकका चौकमा थप जनशक्ति परिचालन गर्न लागेको आचार्य बताउँछन् ।

‘सडकका आफ्नै नियम भएकाले चालक र नागरिकहरु गम्भीर हुन जरुरी छ,’ आचार्य भन्छन्, ‘वीरेन्द्रनगरमा पार्किङ र जिर्ण सडकका कारण ट्राफिक चुनौती छ, राजधानी मात्रै नभएर जिल्ला भरमै सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी गम्भीर रहेकाले यसमा सबै पक्षको साथ आवश्यक छ ।’

बढ्दो सवारी संख्या
वीरेन्द्रनगर प्रदेश राजधानी कायम भएसँगै दिनप्रति दिन जनसंख्या र सवारी साधनको चाप बढेकाे छ । सुर्खेतमा हाल २१ हजार ३८५ सवारी साधन छन् ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार मोटरसाइकल १५ हजार तीन सय ७८, ट्रक र टिप्पर चार सय ३२, बस पाँच सय २८, ट्याक्टर चार सय ७४, अटोरिक्सा एक हजार एक सय, जीप तथा कार तीन सय ९४, पावर टेलर एक सय ८५ र निर्माणका साधनहरू ७९ वटा छन् ।

तपाईको प्रतिक्रिया