स्काउट कर्णालीकाे संरक्षकमा मुख्यमन्त्री, प्रदेश प्रमुखमा मन्त्री रावल

कर्णालीका सबै पालिकामा स्काउट विस्तार गर्छाैं : मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका सबै स्थानीय तहहरूमा स्काउट विस्तार गर्ने मुख्यमन्त्री महेन्द्रबहार शाहीले बताएका छन् । नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्रीले नकारात्मक चिन्तनलाई सृजनात्मक बनाउँदै पालिका र विद्यालयमा स्काउटको विस्तार गरिने बताएका हुन् ।

‘स्वयमसेवी संस्था नेपाल स्काउटका गतिविधि मार्फत प्रदेशमा विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यमा योगदान पु¥याईने छ,’ उनले भने, ‘स्काउट तालिमका लागि आउने वर्षदेखि बजेट विनियोजन गर्दै स्यवमसेवी कार्यमा स्काउटसंग सहकार्य गरिने छ ।’ उनले युवाहरुको व्यक्तित्व विकासका लागि स्काउट अनिवार्य रहेको औल्याए ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नेपाल स्काउटको भूमिका शुरुदेखि नै महत्वपूर्ण रहेकाले प्रदेशभर विस्तारका लागि काम गरिने जनाए । उनले बालबालिका तथा युवालाई स्काउट मार्फत सहभागी गराई उनको शारीरिक, मानसिक एवम् बौद्धिक विकास गरी अनुशासित तथा स्वावलम्बी बनाईने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया देश विकासमा युवा शक्ति परिचालन गराउनस्काउटलाई विस्तार गर्ने अभियानमा जुटेको जनाए । उनले मुलुकमा थुप्रै सामाजिक संघ, संस्था सञ्चालनमा रहेपनि स्काउट काम अन्यको भन्दा फरक र प्रशंसायोग्य रहेको बताए ।

तदर्थ कर्णाली प्रदेश स्काउटका नवनियुक्त सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीलाई संरक्षकको भूमिका प्रदान गरिएको छ । त्यस्तै प्रदेशका सामाजिक विकास मन्त्री रावललाई स्काउटको प्रदेश प्रमुखको जिम्मेवारी दिईएको छ ।

तदर्थ ११ सदस्यीय कर्णाली प्रदेश समितिको संयोजकमा कमल बोहरा तथा सदस्यहरुमा गगन बोगटी, विष्णुमाया शाही, गणेश भण्डारी, गोपाल घिमिरे, सृजना परियार, धमेन्द्र केसी, तिलक खत्री, नरेश सिंह, जगत रोका र ज्ञानसिंह लोहार रहेका छन् ।

स्काउटका राष्ट्रिय प्रशिक्षक कमल देउजाको अगुवाईमा ६ सदस्यीय कर्णाली प्रदेश सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिमा देउजासहित खगेश्वर गौतम, राजुशरण न्यौपाने, लालपुरा शाही, नैनसिंह खत्री र रुपेश भण्डारी रहेका छन् ।

अन्तर्राष्ट्रिय स्वयमसेवी संस्था स्काउटको गतिविधि नेपालमा २००९ सालबाट शुरु भएको हो । तर २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधि कार्यक्रम शुरु गरिएको हो । यसको विश्वका एक सय ८६ मुलुकमा संगठन रहेको छ ।

तपाईको प्रतिक्रिया