हुम्लामा ट्राफिककाे ध्यान ग्रामिणमा पुग्दैन, सडक दुर्घटनामै २१ जनाकाे मृत्यु

हुम्ला । शुक्रबार राति सिमकोट गाउँपालिका–७ डाँडाफयाको हेक्पाखोला नजिक लु२च २१०२ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो  । ७ जना गम्भीर घाइते भए  ।

सम्बन्धीत समाचार
हुम्लामा जीप दुर्घटना चार जनाकाे मृत्यु सात घाइते

हुम्ला प्रहरीका अनुसार सिमकोट–७ का ३० वर्षीय पर्वत सुनार, वडा–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ का ४५ वर्षीय दुखी तामाङ र सोही ठाउँका ४८ वर्षीय गुरु तामाङको मृत्यु भएको हो  । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सीताराम विष्टले घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको बताए  ।

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको देशकै एकमात्र जिल्ला हो  । ग्रामीण सडककै भर रहे पनि यहाँ सडक दुर्घटनामा परेर अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ  ।

३० जनाभन्दा बढी घाइते भएका छन्  । २०७६ असार ३ मा हालसम्मकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी दुर्घटना भयो  । सिमकोट बजारबाट खार्पुनाथतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको थियो  ।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमालको पनि मृत्यु भएको थियो  । त्यसैगरी, गत वर्षकै मंसिरमा सिमकोटको लाग्नामा टिपर दुर्घटना हुँदा ४ जनाको ज्यान गयो  । यसअघि, २०७५ मा नाम्खा गाउँपालिकाको पानीपाल्नामा पनि टिपर दुर्घटनामा परेको थियो  । जसमा २ जनाले ज्यान गुमाएका थिए  ।

करिब एक दशकदेखि ग्रामीण सडकहरू हिल्सा–सिमकोट र चंखेली–बेउली–सिमकोट खण्डमा सवारी चलिरहेका छन्  । खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतका अनुसार अहिले हुम्लामा करिब १५ वटा ट्र्याक्टर र १३ वटा जिप सञ्चालनमा छन्  ।

‘सडक खुलेपछि जनतालाई सुविधा होला भनेर हेलिकप्टरबाट जिप ल्याएर भए पनि सेवा दिइरहेका छौं,’ उनी भन्छन्, ‘तर जोखिम बढिरहेको छ, दुःख गरेर ल्याएका गाडीहरू दुर्घटनामा पर्ने गरेका छन्  ।’ ती सडकमा रुट परमिटबिनै गाडीहरू गुड्ने गर्छन्  । यस्तो अवस्थामा ज्यान गुमाएका व्यक्तिका परिवारले बिमा रकमसमेत पाउँदैनन्  । घाइतेहरूको उपचारमा पनि समस्या हुने गरेको छ  कान्तिपुरमा समाचार छ ।

अन्य पहाडी क्षेत्रमा जस्तै हुम्लामा पनि साँघुरो र कच्ची सडक तथा चालकको लापरबाहीकै कारण दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ  । हाल सञ्चालनमा रहेका सडकहरू ३ देखि ५ मिटर चौडा छन् । ती सडकमा सिमकोट आसपास ट्राफिक जाँच हुने गरे पनि ग्रामीण क्षेत्रमा भने यसको व्यवस्था छैन  ।

जिल्लामा अहिले असईको नेतृत्वमा ५ जना मात्रै ट्राफिक प्रहरी छन्  । सिमकोटमै बस्ने ती प्रहरीको ध्यान ग्रामीण सडकमा पुग्दैन । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी राकेश सिंह रुट परमिट नभएको, सडक र सवारीसाधनको कमजोर प्राविधिक अवस्थाले सडक सुरक्षामा चुनौती थपिएको बताउँछन्  ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी सवारी दुर्घटना बढेपछि चालक अनुमतिपत्र (लाइसेन्स) जाँचमा कडाइ गर्न थालिएको बताउँछन्  । ‘सडकको दुरवस्था र ट्राफिक नियम पालनामा हुने कमजोरीले दुर्घटना बढिरहेका हाम्रो ठम्याइ छ,’ उनले भने, ‘यही कुरालाई मनन् गरी सवारी लाइसेन्स नभएका व्यक्तिलाई गाडी चलाउनबाट रोक्ने योजना बनाएका छौं  ।’

तपाईको प्रतिक्रिया