रारामा पर्यटकलाइ बास पाउनै सकस

मुगु । रारा घुम्न आउने पर्यटकलाई बासको समस्या हुन थालेको छ । ताल किनारका होटलमा बास नपाइएपछि पर्यटक माझघट्ट होमस्टेलगायत आसपासका गाउँमा जानुपर्ने बाध्यता भएको छ ।

ताल नजिकै सुविधासम्पन्न डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्ट सञ्चालनमा छन् । गत वर्ष भिलेज हेरिटेज रिसोर्टमा आगलागी भएपछि डाँफे गेस्टहाउसमा मात्रै पर्यटक राख्न समस्या भएको हो ।

रारा घुम्न आएका आन्तरिक पर्यटक ताल नजिकै बस्न खोजे पनि बास नपाउँदा अन्यत्र जान बाध्य छन् । रारामा अहिले दैनिक ५० देखि १ सय आन्तरिक पर्यटक आइरहे पनि बास नपाउँदा समस्या भइरहेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर सरोज खड्काले बताए ।

प्रायः पर्यटकले नेपालगन्ज र सुर्खेतबाटै होटल बुक गर्नुपर्ने बाध्यता छ । होटल बुक नगरेका पर्यटक होमस्टे, स्थानीयका घर र टेन्टमा बस्ने गरेका छन् । केही पर्यटक होटल अभावमा बाटामै बस्नुपर्ने बाध्यता भएको खड्काले बताए ।

बास अभावमा केही पर्यटक मिलिचौरबाटै ताल अवलोकन गरी फर्कन थालेका छन् । ‘एक त होटल नै कम थिए,’ उनले भने, ‘त्यसमा पनि एउटामा आगलागी हुँदा त्यसको असर सबैमा पर्‍यो ।’

रारा आउने पर्यटकका लागि ताल नजिकै कम्तीमा ५ वटा होटल हुनुपर्ने रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्रीविनोद दाहालले बताए । ‘भौतिक पूर्वाधारकै अभावमा यहाँ आएका पर्यटक विभिन्न सास्ती भोग्न बाध्य छन्,’ उनले भने, ‘होटलको मात्र समस्या छैन, विद्युत्, टेलिफोन र इन्टरनेट पनि भरपर्दो नबन्दा पर्यटकको आकर्षण नबढेको हो ।’

गमगढी–नाग्मा सडक कालोपत्र नहुँदा पनि पर्याप्त पर्यटक भित्र्याउन नसकिएको उनको भनाइ छ । उनका अनुसार सडक कच्ची ह्ुँदा हिमपात र वर्षाले झन्डै ३ महिना यो पर्यटकीय गन्तव्य बन्द हुने गरेको छ ।

निकुञ्जका अनुसार काठमाडौं, बुटवल, विराटनगर, झापा, सर्लाही, नेपालगन्ज, पोखरालगायत ठाउँबाट रारा घुम्न आउने बढेका हुन् । सडक र हवाईमार्गबाट दैनिक आन्तरिक पर्यटक रारा आइरहेको दाहालले जानकारी दिए ।

असोज र कात्तिकमा मात्रै रारामा झन्डै ३ हजार आन्तरिक पर्यटक भित्रिएको उनले बताए । सहरी क्षेत्रबाट मोटरसाइकल र जिप चढेर आन्तरिक पर्यट रारा आउने गरेका हुन् । आन्तरिक पर्यटक बढेपछि रारा विमानस्थलमा उडान पनि थपिएको छ । अहिले सुर्खेत र नेपालगन्जबाट तारा, सीता र गोमा एयरलाइन्सले दैनिक ५ वटासम्म उडान भरिरहेका छन् ।

रारामा आन्तरिक पर्यटक बढेपछि होटल सञ्चालक, घोडा व्यवसायी, ढुंगा चालकलगायत स्थानीय व्यस्त बन्न थालेका छन् । दसैंयता दैनिक ७ हजार रुपैयाँसम्म कमाइ हुन थालेको मुर्माका घोडा व्यवसायी खेमबहादुर रोकायाले बताए । रारा आउने पर्यटकलाई उनले घोडामा मुर्माटप, मिलिचौर, सल्लेरी, लामाचौर, माझघट्टलगायत ठाउँ घुमाउने गरेका छन् ।

पर्यटकका कारण रारा विमानस्थलमा पनि पर्यटकको चाप बढेको हुटुस्थित डाँफे गेस्टहाउसका प्रबन्धक बलिराज शाहीले बताए । ‘कोरोना महामारीले ६ महिनासम्म सुनसान बनेका होटलका कोठा भरिएका छन्,’ उनले भने, ‘एक महिनायता केही पर्यटकलाई टेन्टमा पनि बसाइरहेका छौं ।’ घुम्न आएका आन्तरिक पर्यटक ३ दिनसम्म रारामा बस्ने गरेको उनले जानकारी दिए ।

पछिल्लो समय मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएका पर्यटक घोडा चढेर मुर्माटप जान्छन् भने त्यहाँबाट सैपाल हिमाल, छायानाथ तीर्थस्थलसहितको अवलोकन गरेर फर्किन्छन् । रारामा आन्तरिक पर्यटक बढ्न थालेपछि भिजिट कर्णाली टुर एन्ड ट्राभल्स र रारा एडभेन्चरले जहाजबाट रारा घुमाउने प्याकेज ल्याएका छन् ।

काठमाडौंदेखि रारासम्मको २ रात र ३ दिनको प्याकेजबापत २५ हजार ५ सय रुपैयाँ लिइरहेको एडभेन्चरका प्रबन्धक देवीकृष्ण रोकायाले बताए । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया