घर-घरमा मोटरसाइकल, बस्ती-बस्तीमा गाडी

जाजरकोट । २० दिन लगाएर नुन बोकेर प्रयोग गरेको समय सम्झँदै छेडागाड नगरपालिका ६ का ६१ वर्षीय रामबहादुर बिसीलाई अहिले अचम्मै लाग्छ ।

हेर्दा, हेर्दै घर आँगनमा मोटर,गाडी गुडे,’ उनी भन्छन्, ’मैले पहिलो पटक नेपालगन्ज जाँदा बस देखेको हुँ, अहिले हाम्रो पालामा घर आगनमै यातायातका साधन गुड्दा अचम्म लागेको छ,’ रामबहादुर भन्छन्, ’हाम्रो पुस्ताले धेरै खालका आन्दोलन र क्रान्ति भोग्यो, अहिले चाहिँ नातीले मोटरसाईकलमा राखेर नुन, तेल र अन्य खाद्यान्न ल्याउँदा यही क्रान्ति जस्तो लागि रहेछ ।’

जिन्दगीका कहाली लाग्दा दिनहरु सम्झँदै अर्का ६४ वर्षीय हरिबहादुर विक भन्छन्, ’मेरो आधा जिन्दगी त साहुको भारी बोेक्दै गयो, अब घर नजिकै यातायात पुगेपछि छोरा, नातीले भारी बोक्ने कुरा छुट्दा खुसी छु ।’ आफैँभन्दा बढी तौल बोकेर कयन पटक नेपालगन्जबाट जाजरकोट सामग्री ल्याएको सम्झँदै उनले अहिले दिन खुसी र सुखका भएको बताए ।

अहिले पश्चिम जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका अधिकांश वडामा यातायातको पहुँच पुगेको छ । त्यस्तै जुनिचाँदे गाउँपालिकामा सडक सञ्जाल विस्तार अभियान तीव्र बनेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको विशेष निगरानीमा पश्चिम जाजरकोटमा सडक सञ्जाल निर्माण कार्य तीव्र बनेको हो । यो समाचार जाजरकोटबाट प्रकाशित भेरीमालिका दैनिक पत्रिकामा छापिएको छ ।

जाजरकोट जुम्ला जोड्ने सडक पश्चिम जाजरकोट भएर जाने गर्दछ । जाजरकोट डोल्पा सडक खण्डको आधा भाग पश्चिम जाजरकोट भएर जाने गर्दछ । पश्चिम क्षेत्रका तीन स्थानीय सरकारले सडक निर्माणलाई विगतका बर्षमा पहिलो प्राथमिकता दिएको छेडागाड नगरपालिकाले जनाएको छ । तीनवटा तहका सरकारको मुख्य विषय नै सडक भएकाले आन्तरिक तथा लामो दुरीका सडक निर्माण कार्य तीव्र पारिएको छ ।

अहिले पुराना सडकको स्तरोन्नती र नयाँ सडकको ट्याक खोल्ने काम चलिरहेको शिवालय गाउँपालिकाले जनाएको छ । सडक सञ्जाल विस्तारसँगै यहाँका स्थानीय तहले एम्बुलेन्स सेवा शुरू गरेका छन्। शिवालय गाउँपालिकाले गर्भवती र जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्स सेवा शुरू गदै आएको अध्यक्ष शाहीले जानकारी दिए ।

सडकमा पहुँच बढेसँगै स्थानीय बासिन्दाहरुले खाद्यान्न, औषधी उपचार, खरिद र बिक्रीसमेत प्रभावकारी रुपमा गर्दै आएको शिवालय गाउँपालिका जनाएको छ । भौतिक पुर्वाधारका काम समेत छिटो-छरितो रुपमा निर्माण हुँदै आएका छन्, सडक विस्तारसँगै बजार विस्तार भएको छ, अर्थोर्पाजनका हिसाबले पनि कृषकहरुलाई निकै राहत मिलेको छ ।

साना कामका लागि पनि सदरमुकाम सम्म धाउँदै आएका स्थानीयहरु गाउँमै सबै प्रकारका सेवा पाएपछि दंग पर्न थालेका छन्। खाद्यान्न उत्पादनका हिसाबले कमजोर मानिएको पश्चिम जाजरकोटमा सडक सञ्जाल जोडिएसँगै कृषि व्यवसाय गर्न सहज भएको छ। उत्पादित तरकारीबाली बजारसम्म लैजान समेत सहज भएको स्थानीयवासीले बताएका छन ।

तपाईको प्रतिक्रिया