सुनौलो परिवार सेवाको समीक्षा

दैलेख । सुनौलो परिवार नेपालले सन् २०१८ यता तीन वर्ष सञ्चालन गरेको सिमान्तकृत समुदायहरुको परिवार नियोजन आवश्यकता सम्वोधन परियोजनाको समीक्षा र परियोजना समापन कार्यक्रम आज दैलेखमा सम्पन्न गरेको छ । यो तीन वर्षमा २२ सय जनालाई सेवा पु¥याउने लक्ष्य लिएकोमा २३ सय ४२ जना अर्थात लक्ष्यको १ सय ७ प्रतिशत प्रगति भएको जनाइएको छ ।

सेवा लिने उमेर समूहका हिसावले ९७ जना २० वर्षमुनिका, ९ सय २९ जना २० देखि २५ वर्ष उमेरका र २५ वर्ष माथिका १४३३ जना भएको सिमान्तकृत समुदायहरुको परिवार नियोजन आवश्यकता सम्वोधन परियोजनाका जिल्ला अधिकृत सुश्मा श्रेष्ठले जानकारी दिइन ।

परियोजना समीक्षा कार्यक्रम बताइए अनुसार ९ सय ९२ जना ब्राम्हण क्षेत्री, सात सय ८१ दलित, तीन सय ३६ जना जनजाति र तीन सय ५० जना चाहिं अरु जातिका छन् ।

सेवाग्राहीको शैक्षिक अवस्था बिश्लेषण गर्दा १२ सय २ जना निरक्षर, दुई सय २४ जना प्राथमिक तह, छ सय ६ जना मावि तह र चार सय २७ जना चाहिं उच्च शिक्षा हासिल गरेकाहरु रहेका श्रेष्ठले बताइन ।

परियोजना अवधिमा सदरमुकामको कार्यालयबाट दैलेखका ११ वटै स्थानीय तहका सन्तानको रहर पुगेको २३ सय ४२ जनाले पाँच वर्ष गर्भ रोक्ने इन्प्लाण्ट र एक सय १७ जनाले आईयूसीडी लगाएको तथ्यांक परियोजना व्यवस्थापक अनुपम रायले बताए ।

सन्तानका रहर पुगिसकेका दम्पतिमा पुरुषहरुले बन्ध्याकरण गर्दा ढाड दुख्छ भन्ने अन्धबिश्वासका कारण ४–५ वटा बच्चाबच्ची महिलाले इन्प्लाण्ट आईयूसीडी लगाउने प्रचलन अति नै धेरै भएको परियोवनाका पैरबी अधिकृत कुमार आचार्यको भनाई छ । महिलाले लगाउने लामो समय गर्भ रोधक साधनहरुको प्रयोग गर्दा स्वास्थ्यमा खराबी आउँछ भन्ने नकारात्मक असर रहेको आचार्यले बताए ।

सुरक्षित मातृत्व र परिवार नियोजन साधनको उपभोगबाट जनस्वास्थ्यका प्रतिकुलता हटाउन गरिएको कार्यक्रम प्रभावकारी रहेको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले कार्यक्रमको प्रभावकारितालाई सम्वन्धित निकायमा जानकारी गराएर परियोजना निरन्तरता गर्न आग्रह गरे ।

समीक्षा मातृ शिशु मृत्यूदर रोक्न परिवार नियोजनका साधनहरुको प्रयोगले सकारात्मक परिवर्तन ल्याएको तर सचेतनाका कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले प्रतिक्रिया दिए ।

सुनौलो परिवार नेपालले डीएपआईडी र मेरीस्टोप्स इण्टरनेश्नलको साझेदारीमा सञ्चालन गरेको सिमान्तकृत समुदायहरुको परिवार नियोजन आवश्यकता सम्वोधन परियोजना दैलेख लगायतका ५० जिल्लामा परिवार नियोजन, सुरक्षित गर्भपतन, गर्भवती जाँच, खोप, यौन रोगहरु सम्वन्धि जाँच तथा उपचारमा काम गरिरहेको छ ।

परिवार नियोजन र सुरक्षित गर्भपतन सेवामा सुनौलो परिवार नेपालले मेरीस्टोप्स इण्टरनेश्नलसंगको २५ वर्षदेखिको साझेदारीमा काम गर्दै आएको छ । परियोजना सीमित क्षेत्रमा भए पनि परिवार नियोजन सेवा र युवा सचेतनाको निम्ति रेडियो अडियोको खुल्दुली डटकम रेडियो कार्यक्रम देशभरका एफएमबाट प्रसारण गर्दै आएको छ ।

सिमान्तकृत समुदायहरुको परिवार नियोजन आवश्यकता सम्वोधन परियोजनाले दैलेखमा काम गरेको तीन वर्ष अवधिमा कार्यक्रम तर्फ ६४ लाख २३ हजार ८ सय १८ रुपैंयाँ र प्रशासनिक व्यवस्थापनमा २३ लाख ८१ हजार एक सय २९ रुपैंयाँ खर्च भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया