गौतमबुद्ध कप क्रिकेट : ज्ञानेन्द्र र बिनोदको टिम भिड्दै

चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) बाट बागमती र राप्ती टिम भिड्दै छन् ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् ।

शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो ।

बागमती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्न चाहन्छ । फाइनल पुग्न बागमतीलाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ । राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।

शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् । कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया