बुन्डेसलिगामा लेवान्डोस्कीको २ सय ५० गोल पुरा

एजेन्सी । रोबर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा २ सय ५० गोल पुरा गरेका छन् ।

बुधबार राति बायर्नले वोल्फ्सबर्गलाई २–१ ले पराजित गरेको खेलमा लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् ।

पोल्याण्डका ३२ वर्षिका फरवार्ड सो कोशेढुङ्गा पार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि गेरड मुलर र क्लाउस फिशरले सो उपलब्धि हात पारेका छन् । घरेलु टोलीको जितमा दुवै गोल लेवान्डोस्कीले गरेका हुन् ।

खेलमा अग्रता भने वोल्फ्सबर्गले पाँचौ मिनेटमा फिलिपको गोलमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए । ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले बायर्नलाई जित दिलाएका हुन् ।

लेवान्डोस्कीले यस सिजन सबै प्रतियोगितामा बायर्नका लागि १८ गोल पुरा गरेका छन् । सन् २०१९–२० को सिजनमा उनले ६४ खेलमा ७३ गोल गरेका छन् । जितसंगै बायर्नले शीर्ष स्थानको बायर लिभरकुसनसंगको दुरी १ अंकमा झारेको छ । बायर्न म्युनिख २७ अंक सहित दोस्रो स्थानमा छ । वोल्फ्सबर्ग २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया