पालिकाको खर्चमा अध्यक्ष वमले बाँडे आफन्तलाई मोटरसाईकल

सुर्खेत । कालिकोट जिल्लाको पलाता गाउँपालिकाको नाममा खरिद गरिएका मोटरसाइकल गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर वमका आफन्तलाई बाँडिएको खुलासा भएको छ । वीरेन्द्रनगरमा रहेको एक मोटरसाइकल सोरुमबाट खरिद गरिएका मोटरसाइकल उनले आफ्ना साला विमलकुमार शाहीसहितलाई बाँडेको आरोप लागेको छ ।

फाइल फोटो

आफ्ना बुवा आमाको नाउँमा स्थापना गरिएको अस्पतालसहितका सातजना व्यक्तिलाई गाउँपालिकाको विलमा मोटरसाइकल खरिद गरेर दिएपछि यो प्रसंग बाहिर आएको हो । यद्यपी पालिका अध्यक्ष बमले पालिकाको नाउँमा मोटरसाइकलको विल काटेर लगेपनि हालसम्म पालिकामा दाखिला गरेका छैनन् ।

श्रोतका अनुसार उनले अहिलेसम्म शोरुमलाई बुझाउनुपर्ने रकम पनि बुझाएका छैनन भने पालिकाले मोटरसाइकल अध्यक्षले खरिद गरेको भन्ने सुइको समेत पाउन सकेको छैन । आफ्ना बुवा र आमाको नाममा पलातामा स्थापना गरेको ए एन बी अस्पतालको नाममा समेत मोटरसाइकल खरिद गरि वितरण गरेका अध्यक्ष बमले मोटरसाइकलको बिल पलाता गाउँपालिकाले तिर्ने भन्दै उद्यारोमा लिएका हुन् ।

गाउँपालिकाका एक पदाधिकारीले भने( ‘केही वडाध्यक्षले मोटरसाइकलको माग गरेका भन्ने खबर सुन्नमा आएको थियो । तर विधी प्रक्रियाबिना मनपरि ढंगमा कसलाई मोटरसाइकल दिइएको हो हामीलाई जानकारी छैन ।’

पलाता गाउँपालिकाका एक वडाध्यक्षले पालिका अध्यक्षले मनपरि रुपमा मोटरसाइकल बाँडेको बताए । ‘कसलाई मोटरसाइकल दिएका छन्, त्यो थाहा छैन । कार्यपालिका बैठकमा निर्णय हुनुपर्थ्यो, हामीलाई जानकारी हुनुपर्थ्यो त्यो भएको छैन ।’

पालिका अध्यक्षले सरकारी सम्पती आफ्नै विर्ता भए जसरी निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमको अनुमति बेगर दबंग शैलीमा खर्च गर्दै आइरहेको दावी उनले गरे । पलाता गाउँपालिकाको दाखिला फाँटमा काम गर्दै आइरहेका विअराज बमले सात वटा मोटरसाइकल खरिद बारे आफूहरुलाई कुनै पनि जानकारी नभएको बताए ।

वीरेन्द्रनगरको एक शोरुमबाट सातवटा मोटरसाइकल खरिद गरिएको बारे शोरुम सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा भने( ‘पालिका अध्यक्षले सातवटा मोटरसाइकल पालिकाले तिर्ने भन्दै उद्यारोमा खरिद गरेर असारमै लैजानु भएको हो । हालसम्म पनि यी मोटरसाइकलको विल भुक्तानी भने भएको छैन ।’

विक्रेता शोरुमले प्रतिमोटरसाईकल दुई लाख ७५ हजार नौ सयका दरले २२ लाख सात हजार दुइ सय रुपैंया भुक्तानी लिन बाँकी रहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको बताए । ‘मैले पनि सातवटा मोटरसाइकल गत असारमै अध्यक्षद्धारा खरिद गरिएको भन्ने हल्ला सुनेको हो । आधिकारीक रुपमा मलाई कुनै जानकारी छैन ।’ उनले भने ।

उनले आफूले खरिद प्रक्रिया अन्तर्गत दाखिला नभएका मोटरसाइकलको विल भुक्तानी गर्न नसक्ने बताउँदै वडा कार्यालयका लागि खरिद गर्ने भएपनि प्रक्रिया अपनाएर मात्रै खरिद गर्नुपर्ने कानूनी प्रावधान रहेको बताए । यसअघि पालिकाले कोटेशनमार्फत नै मोटरसाइकल खरिद गर्ने गरेको बताए ।

कसको नाउँमा कुन मोटरसाईकल 
असारमा अध्यक्ष बम ले पलाता गाउँपालिका वडा नं। ६ का लागि भन्दै लु ५८ प ५५६६ ९४४३१० नम्बरको मोटरसाइकल लिएका छन भने त्यहाँ रहेको आफ्ना बुवा र आमाको नाउँमा खोलिएको ए एन बी अस्पतालका नाउँमा लु ५८ प ५८२८ ९४४५५० नम्बरको बाईक लगेका छन् ।

पलाता गाउँपालिका वडा नं। तीनका नाउँमा लु५८प ५८१९, वडा नं। ७ का नाउँमा लु ५८ प ४४५८, वडा नं। पाँचका नाउँमा लु ५८ प ५८०६ र उनका साला विमल कुमार शाहीका नाउँमा लु५७प११३४ नम्बरको मोटरसाइकल पालिकाको विलमा खरिद गरेर लिएका हुन । यता, पालिका अध्यक्ष लक्ष्मण बमका तीन वटै सम्पर्क नम्बरमा फोन गर्दा उनको नम्बरमा सम्पर्क हुन सकेन ।

गाउँपालिका उपाध्याक्ष दाना न्यौपानेले भने वडाअध्यक्षले मोटरसाइकल मागेका कारण दिइएको बताइन् । उनले आफूहरुले वडाअध्यक्षको जिम्मा लगाएको बताउँदै दाखिला गरे नगरेको जानकारी नभएको बताइन् । उनले निजी अस्पताल र अध्यक्षका सालाले प्रयोग गरेको मोटरसाइकलको पैसा पालिकाले नतिर्ने बताइन् । पालिकामा चर्को आलोचना भएपछि अध्यक्ष बमले अहिले शोरुमबाट गएको फोनको रेस्पोन्स गर्न छोडेको शोरुमका एक कर्मचारीले बताए । #नेपालप्रेसबाट ।

तपाईको प्रतिक्रिया