बेरोजगारलाई काम नपाएर भौतारिन दिदैनौं

बेरोजगारलाई रोजगारी दिने योजना बनाउनु भएको छ । कसरी काम दिनुहुन्छ ?
नगरपालिकाको बजेट तथा स्रोत सिमित भएकाले धेरै काम गर्न सकिदैन । प्रदेश तथा केन्द्रका एक जना सांसदले चलाउन पाउने जतिको बजेट हाम्रो नगरपालिकाले चलाउँछ । ६÷७ करोडले धेरै काम गर्न सकिदैन । प्रदेश तथा संघबाट पनि खासै आवश्यकता अनुसारको न्यायोचित रुपमा बजेट आउँदैन । त्यसैले धेरै काम गर्न नसकेपनि अब हामीसँग उपलब्ध बजेट तथा स्रोत साधानको उचित प्रयोग गर्दै सबै बेरोजगारलाई काम दिने योजनामा छौं ।

जसका लागि नगरपालिकाको स्रोतले गर्न सकिने भनेको किसानलाई फलफूल तथा अन्नबालीको बीउ, बिरुवा वितरण गर्ने, प्राविधिक सहयोग दिने र सार्वजनिक संरचना निर्माणका काममा बेरोजगारलाई काम दिने योजना छन् । एकै पटक धेरैलाई रोजगारी दिन नसकिए पनि केही दिन काम दिएर उनीहरुको आम्दानी बढाउने रणनीति छ ।

त्यसो भए एउटै घरका सबै बेरोजगार व्यक्तिले काम पाउँछन् त ?
त्यसमा यसो छ । तीन जनाको परिवार छभने एक जना, पाँच जनाको परिवार छभने दुई जना र सात जना भन्दा माथीको परिवार भएको घरका लागि तीन जनालाई काम दिने अवधारणा छ । काम पाउनेहरुले सडक, खानेपानी, सिँचाई लगायतका सार्वजनिक निर्माणका काम गर्नेछन् ।

गत वर्ष भन्दा यस वर्ष केही फरक योजना छन् ?
गत वर्ष नगरपालिकाले साना ठुला गरी करिब साढे चार सय योजना बनाएको थियो । जसमा कोराना माहामारीका कारण करिब ७० वटा जति योजना सम्पन्न गर्न सकिएन । तर अन्य योजनाहरु पूरा भए । बाँकी रहेका योजनालाई यस वर्ष प्राथमिकता दिइएको छ । नगरपालिकाको यस वर्षको बजेटमा कोडिड १९ रोकथाम, भौतिक संरचना निर्माण र आयमुलक स्वरोजगारका कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।

प्रदेश र संघीय सरकारसँगको समन्वय कस्तो छ ?
पञ्चपुरी नगरपालिकामा प्रदेश र संघको नजर पर्न सकेको छैन । संघले नै हेरेको यहाँको विद्युत र सडकको अवस्था दयनिय छ । बड्डीचौरदेखि पञ्चपुरी जाने सडक अँझै स्तोरोउन्नतीसहित पिच हुन सकेको छैन । अब मदन भण्डारी राजमार्गमा परेकाले केही हुन्नकी भन्ने यहाँका स्थानीयको अपेक्षा छ । त्यस्तै तातापानीमा निर्माण हुने विद्युतको काम अलपत्र छ । स्थानीय अध्यारोमुनी छन् । पोल हालेर, तार तानेर छोडिएको छ । कर्णाली चिसापानीबाट तातापानी हुँदै अछाम जोड्ने सडक निर्माणको काम अलपत्र छ ।

नगरपालिकाले यस्ता योजनामा काम गर्न सक्दैन र ?
नगरपालिकाले यस्ता ठूला योजना हेर्न सक्दैन । हामीले सक्ने काम गरेकै छौ । अहिले सबै वडामा सडक पुगेको छ । गत वर्ष सालकोट बजार क्षेत्रको करिब ६÷७ किलो मिटर सडक पिच गरेका छौं । प्रस्ताव लिएर जाँदा संघ र प्रदेशले सुन्दैन । प्रदेशले सधैं कार्यकर्ता पाल्ने मात्रै बजेट बाँड्छ । गत वर्ष संघले दिने भनेको राजश्व बाँडफाँड अन्तर्गत चार करोड बजेट नै आएन । यसले गर्दा कतिपय योजना अधुरै राख्नुपर्ने बाध्यता आयो ।

वडा, नगर तथा शिक्षा क्षेत्रमा भौतिक संरचनाको अवस्था कस्तो छ ?
हाल नौ वटा वडा कार्यालय निर्माण गरिएका छन् । नगरपालिका भवन बन्दैछ । विद्यालय र स्वास्थ्यचौकी लगायतका भवन निर्माणको काम जारी छन् । तर विकासमा बजेट हुनु मुख्य समस्या हो । हामी धेरै ठूलो आश्वासन बाँड्दैनौं । गर्न सकिने जति मात्रै गरिन्छ । अब नगरपालिकाले जसरी पनि सबै बेरोजगारलाई काम दिन्छ । यसले गर्दा नागरिकको भोको पेट पनि भरिन्छ । विकास पनि हुन्छ ।

स्वास्थ्य संस्थामा जनशक्ति र स्वास्थ्य सेवा प्रवाहको अवस्थाबारे पनि बताइदिनुहोस् न ?
स्थानीय सरकार आउनु पहिले पञ्चपुरी नगरपालिकाका केही वडामा स्वास्थ्य इकाई थिएनन् । ती वडामा हाल स्वास्थ्य इकाई स्थापना गरेका छौं । पञ्चपुरी नगरपालिकामा स्थानीयवासीलाई स्वास्थ्यको पहुँचमा पुग्न एक घण्टाभन्दा बढी समय नलागोस भनेर स्वास्थ्य इकाई थप गरिएको हो । सबै स्वास्थ्य इकाईमा आवाश्यक जनशक्ति छन् । साविक छाप्रे गाविस भौगोलिक विकट क्षेत्र हो । जहाँ तीन वटा बस्ती थिए । दुर्गमताका कारण यहाँका नागरिक उपचारका लागि ३ देखि ४ घण्टा हिँड्नुपर्ने बाध्यता थियो । छाप्रेमा दुईवटा स्वास्थ्य इकाई थप गरेपछि हाल सहज भएको छ ।

यसका साथै विद्यापुरको दह सान्नेमा एउटा, तातापानीमा एउटा र लाटीकाँडामा एउटा गरी पाँच वटा स्वास्थ्य इकाई थप गरेका छौं । भने पञ्चपुरी नगरपालिकाको स्वास्थ्य इकाई नभएका वडामा गत सालदेखि स्वास्थ्यका भवन निर्माण कार्य सुरु गरेका छौ । प्रत्येक वडामा एउटा स्वाथ्य इकाई स्थापना गर्ने हाम्रो लक्ष छ । यसको साथसाथै पञ्चपुरी नगरपालिकामा एउटा एमबीबीएस डाक्टर, दुई जना स्टाप नर्स र कोभिडको लागि पनि छुटै अस्पतालको व्यबस्था गर्ने तयारीमा छौं ।

तपाईं निर्वाचित भएपछि यतिमात्रै काम भए की अरु पनि छन् ?

हामी निर्वाचित भएपछि स्वास्थ्यमा भएका सुधारहरु अरु पनि छन् । साथै गर्भवती तथा सुत्केरी आमालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रमहरु पनि गरेका छौं । आमा र बच्चाको स्वास्थ्य र पोषणमा सहयोग पुगोस भनेर दुई हजार रुपैंया सुत्केरी प्रोत्साहन भत्ता पालिका मार्फत व्यवस्थापन गरेका छौं ।

हाल पञ्चपुरी नगरपालिकामा ९४ प्रतिशत आमाहरु स्वास्थ्य केन्द्रमा गएर प्रसूती सेवा लिने गरेका छन् । बाँकी ६ प्रतिशतलाई एक दुई वर्षभित्र स्वास्थ्यको पहुँचमा ल्याउने योजना छ । यसका साथै सबै वडामा स्वास्थ्य जनचेतना अभियान सञ्चालन गरेका छौ । जसमा हात धोएर खाना खाने, सुरक्षित पानी पिउने, आफूलाई रोगको संक्रमण भएको संकेत पाउनु साथै स्वास्थ्य संस्था जाने, बच्चाको तौल लिने लगाएतका जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं ।

ठूलो स्वाथ्य सेवा दिने त हामीले सकेका छैनौं । तर प्राथामिक उपचारसम्म हामीले सहज रुपमै वडामा दिएका छौं । पश्चिम क्षेत्रको बराहताल, पञ्चपुरी, चौकुनेमा कुनै षोष्ट मार्टमका केश भए भने वीरेन्द्रनगर लैजान पर्ने बाध्यता छ ।

बिहान, बेलुका छाक टार्न मुस्किल हुने परिवारले धेरै खर्च गरेर त्यहाँसम्म शव लैजान नसक्ने भएपछि हामीले पोष्टमार्टमका लागि बाँबियाचौरमै व्यवस्था गर्ने तयारी गरेका छौं । जसका लागि आवश्यक भवन निमार्ण गरेका छौं । भने काम गर्ने जनशक्ति माग गरेका छौं । अब पोष्टमार्टमका लागि वीरेन्द्रनगर धाउनुपर्ने छैन ।

अन्त्यमा नागरिकलाई कोरोना भाईरस संक्रमणबाट बचाउन पालिकाले के कस्ता प्रयास ग¥यो र अब गर्नुपर्ने काम केही छन् ?
सबै भन्दा पहिले त हामी तीन तहकै सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्छ । हामी सबै सरकारले आफ्ना नागरिकलाई स्वस्थ बनाउनुपर्छ । तबमात्रै राज्यका लागि दक्ष जनशक्ति उत्पादन हुन्छ ।

त्यसैले सोही अनुसार कोरोना माहामारी सुरुभएपछि हामीले काम गरेका छौं । पञ्चपुरी नगरपालिकामा करिब तीन हजार ६ सय नागरिक स्वदेश तथा विदेशबाट गाउँ फर्किए । उनीहरुको व्यवस्थापनको लागि १८ ठाउँमा क्वारेन्टाइन र दुई ठाउँमा आसोलेसनको व्यवस्था गरेका थियौं ।

र नेपाल सरकाले दिएको मापदण्ड अनुसार कुनै कसर बाँकी नराखेर नागरिकको स्वास्थ्य सुरक्षामा लागि परेका छौं । हरेक नागरिकलाई कोरोना संक्रमणबाट बचाउन आवश्यक पहल जारी नै छ ।

तपाईको प्रतिक्रिया