भोकको विकराल तस्वीरः १७० किलोमिटर पार गरेर समीमको ज्यान जोगाईयो

काठमाडौं । भोकका कारण कंकालजस्तै भइसकेका ७ वर्षका एक बालकको भयावह तस्वीर सार्वजनिक भएको छ । यमनका यी बालकको नाम फैयद समीम हो । प्यारालाइसिस र गम्भीर कुपोषणको शिकार भएका समीमको तौल केवल ७ किलो छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार समीमको हालत निकै गम्भीर भइसकेको थियो र मुस्किलले उनको ज्यान बचाउन सकियो । अहिले उनलाई यमनको राजधानी साना ल्याइएको छ जहाँ एक अस्पतालमा उनको उपचार भइरहेको छ ।

अल शबीन अस्पतालको कुपोषण वार्डका सुपरभाइजर डा. रागेह मोहम्मदका अनुसार समीमलाई अस्पताल ल्याउँदा उनको ज्यान जानै लागेको थियो । समयमै सही निर्णय गरेर उनलाई बचाउन सकिएको बताउँदै डा. मोहम्मदले अब उनको स्थिति सुधार भइरहेको बताए । डाक्टरका अनुसार समीम सेरब्रल पल्जी र गम्भीर कुपोषणका शिकार छन् ।

राजधानी सानाको अस्पताल ल्याउनका लागि समीमलाई लिएर १७० किलोमिटर भत्किएको जीर्ण बाटो यात्रा गर्नुपरेको थियो । समीमको उपचारको लागि उनको परिवारसँग पैसा पनि छैन । उनको परिवार उपचारको लागि दानमा निर्भर छ । स्थानीय अस्पतालका डाक्टरले देशमा कुपोषित बालबालिकाको संख्या बढिरहेको बताए । संयुक्त राष्ट्रसंघले यमनले विश्वकै ठूलो मानवीय संकटको सामना गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया