मेहेनती गणेशले इतिहास रचे, मोडल कलेजलाई श्रेय

शैक्षिक गुणस्तर सुधारका लागि पछिल्लो समय सुर्खेतका विद्यालय तथा क्याम्पसहरुबीच प्रतिस्पर्धा भइरहेको छ । विभिन्न संकायमा अध्यापन गराउँदै विद्यार्थी आकर्षण गर्न तथा शैक्षिक गुणस्तर सुधार गर्न यहाँका विद्यालय तथा क्याम्पसहरु लागि परेका छन् । तर शिक्षक र विद्यार्थी दुवैको मेहेनतको कमिका कारण सबैले अपेक्षा अनुसारको नतिजा प्राप्त गर्न सकेका छैनन् । यसैबीच मेहेनती विद्यार्थी गणेश ढकालले सुर्खेतको शैक्षिक इतिहासमा नाम रचेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सुर्खेत मोडल कलेजमा अध्ययन गरेका उनले बीबीएस परीक्षा २०७५ मा नेपाल सर्वप्रथम भइ इतिहास रचेका हुन् । सुर्खेतको शैक्षिक इतिहासमा यो पहिलो रेकर्ड हो । उनको सफलताको श्रेय मोडल कलेजलाई समेत जान्छ । उनी निजामती सेवामा नायव सुब्बा पदमा कार्यरत पनि हुन् । इतिहास रच्न सफल उनै गणेशसँग गरिएको कुराकानीमा आधारित सामग्रीः

बाल्यकाल
सुर्खेत जिल्ला साविकको बजेडिचौर गाविस तथा हालको सिम्ता गाउँपालिकामा वि.सं. २०५५ सालमा उनको जन्म भएको हो । उनी मध्ययम वर्गीय परिवारमा जन्मिएका हुन् । उनका बुबा–आमा पेशाले व्यवसाय गर्ने भएकाले घरको आर्थिक अवस्था राम्रै थियो । बाल्यकालमा गणेशलाई कहिल्यै आधारभूत आवश्यकता पूरा गर्न तथा पढाइ खर्चको अभाव भएन ।

पढाइको शिलशिलामा उनले मेहेलकुना र जहरेमा बाल्यकाल बिताए । उनले भने, ‘सानैदेखि पढाइमा रुची थियो । पढाइका लागि कुनै अभाव थिएन । तर छोराले पढुन् भनेर बाबा, आमाले विलासिताका वस्तुमा भने केही अभावको महसुस गराउनु हुन्थ्यो । बच्चालाई सबै कुरा पु¥याएमा पढाइतर्फ ध्यान जाँदैन र केही हासिल गर्ने इच्छाशक्ति हुँदैन भनेर त्यसो गरिएको हुनुपर्छ । त्यसरी नै म पढ्दै हुर्किएँ ।’

निजामती सेवा प्रवेशमा प्रेरणा
गणेश ८÷९ कक्षा पढ्दा नै उनका दाजुले निजामती सेवामा प्रवेश गरिसकेका थिए । दाजुको प्रेरणाकै कारण उनलाई पनि भविष्यमा निजामती सेवाको जागिर खाने सपना थियो । निजामती सेवामा प्रवेश गरेर राष्ट्रको सेवा गर्नुपर्छ भन्ने उनको सानैदेखिको सोचाई हो र यसमा बुबा–आमाले पनि सपोर्ट गर्नुभएको हो । कुनै न कुनै तरिकाले राष्ट्रलाई योगदान गर्नुपर्छ भन्ने बुबा आमाको सोचाइ र दाजुको गाइडलाइनलाई पछ्याउँदै उनी अघि बढे ।

र अहिले त्यो सपना पूरा पनि भएको छ । पढाइमा निकै मेहनती र लगनशिल उनी २०७३ मा नेपाल न्याय सेवातर्फ नायब सुब्बा पदमा नाम निकाल्न सफल भए । कलिलो उमेरमा उनी निजामती सेवामा प्रवेश गर्न सफल भएका हुन् । १९ वर्ष पूरा नहुँदै उनी निजामती सेवामा प्रवेश गरेका हुन् ।

शैक्षिक यात्रा
चार वर्ष पुग्दा नपुग्दैकै उमेरदेखि पढ्न सुरु गरेका गणेश आफ्नी दिदीलाई पछ्याउँदै रहरले स्कुल जान्थे । तर उमेरले सानो भएकै कारण उनलाई स्कूल नपठाइ उनका बुबा आमाले घरमै पढाउन थाले । पछि उनले सिधै कक्षा २ देखि पढ्न सुरु गरे । कक्षा २ मा सूर्यज्योति उच्च माध्यमिक विद्यालय मेहेलकुनामा अध्ययन गरेका हुन् ।

भने कक्षा ३ देखि ८ सम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जहरेमा अध्ययन गरे । कक्षा ९ र १० श्री अमरज्योती उच्च माध्यमिक विद्यालय नेवारेमा अध्ययन गरेका उनले प्लस टू उषा बालबाटिकामा अध्ययन गरेका हुन् । त्यसपछि बीबीएस सुर्खेत मोडल कलेजमा अध्ययन गरे । कक्षामा सधैं प्रथम र दोस्रो स्थान आउने गणेश कक्षा ९ मा गाउँबाट सुर्खेत आउँदा भने चौथो स्थान आएका थिए । कक्षा ११ र १२ मा व्यवस्थापन संकायबाट जिल्ला प्रथम भएका उनी बीबीएसमा नेपाल सर्वप्रथम हुनसफल भए ।

इतिहास कायम
आफ्नो सफलतामा सधैं गर्व गर्ने तर कहिल्यै घमण्ड नगर्ने गणेश सुर्खेतको शैक्षिक इतिहासमा नाम रच्न सफल भएका छन् । बीबीएस परीक्षा २०७५ मा सर्वप्रथम भएपछि उनलाई त्रिभुवन विश्व विद्यालयको ४६ औं दिक्षान्त समारोहमा ने.बै.लि. छत्रबहादुर पदकबाट सम्मानित गरियो । उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको हातबाट उनले प्रमाणपत्र र स्वर्ण पदक प्राप्त गरेका हुन् । सुर्खेतकै कलेजमा पढेर नेपाल सर्वप्रथम भएको यो पहिलो इतिहास हो ।

‘सफलताको कारण पारिवारिक साथ र सपोर्ट नै मुख्य कुरा हो । आफ्नो र परिवारको सपना पूरा गर्न सधैं लागि परे । यसमा बाल्यकालदेखि औपचारिक शिक्षाका गुरुहरु (शिक्षक)को पनि महत्वपूर्ण भूमिका छ’ उनले भने, ‘शिक्षकले दिएको सही मार्गनिर्देशनले सही बाटोमा लागेर सफलता प्राप्त गर्न सहज भयो । यसमा मेहेनत अपरिहार्य हुन्छ । तर एक्लो मेहेनतले मात्रै पर्याप्त हुँदैन । परिवार, साथीभाइ, गुरुहरु सबैको अहम भूमिका रहन्छ । त्यसैले सबैको साथ सहयोगका कारण मैले सफलता प्राप्त गरेको हुँ ।’

रोजाईमा मोडल कलेज
प्लस टू पास गरिसकेपछि गणेश ढकाललाई बीबीएस कुन कलेजमा पढ्ने भनेर कलेज छनौट गर्न दोधार भयो । साथीभाई र शिक्षकहरुले पनि बाह्य जिल्लामा गएर पढ्दा राम्रो हुन्छ भन्ने सल्लाह दिए । तर उनलाई सुर्खेतमै पढ्नुपर्छ भन्ने सोच थियो । आफू जहाँ छुँ त्यहीका कलेजमा पढ्नुपर्छ । त्यहीको शैक्षिक वातावरण राम्रो बनाउनुपर्छ भन्ने उनलाई अठोट थियो । सोही अनुसार यहाँका कलेज छनोट गर्ने क्रममा सुर्खेत मोडल कलेज उनको रोजाईमा पर्‍यो ।

‘मैले मोडल कलेजको भौतिक संरचना भन्दा शैक्षिक गुणस्तर हेरेर त्यहाँ पढ्न गएको हुँ । तर अहिले भौतिक संरचनाको अवस्था पनि राम्रो छ । आफ्नै सुविधा सम्पन्न भवन छ’ उनले थपे, ‘गुणस्तरीय शिक्षा प्रदान गर्न विषयविज्ञ शिक्षकहरु हुनुहुन्छ । उहाँहरु मेहेनत गर्नुहुन्छ । कलेज सञ्चालनका लागि नेतृत्वकर्ता राम्रा हुनुहुन्छ । कक्षा ११, १२ का साथै बीआईएम, एमबीएस (BIM, MBS) र होटल म्यानेजमेन्टका कक्षाहरु पनि सञ्चालन भएका छन् । विद्यार्थीलाई पढाइमा ऊर्जा थप्ने वातावरण सिर्जना हुन्छ । कलेजप्रति सधैं मेरो माया रहनेछ । कलेजबाट पनि साथ पाउने छु भन्ने अपेक्षा छ ।’

कलेजलाई सफलतासँगै चुनौती पनि
‘मोडल कलेजले सुधार्नुपर्ने कुनै कुरा छ जस्तो मलाई लाग्दैन । तर कलेजलाई चुनौती भने थपिएको छ । मेरो सफलता भनेको कलेजकै सफलता हो’ प्रदेश रैबारसँग उनले भने, ‘यही कलेजमा पढ्ने विद्यार्थीले नेपालमै विशिष्ट अंक ल्याएर सर्वप्रथम भइ नाम चिनाएको बेला भोलीका दिनमा पनि यसलाई कायम गर्नुपर्ने कलेजलाई चुनौती छ ।’

धेरैजसो विद्यार्थीमा सुर्खेतमै पढ्ने वातावरण ठीक छैन । जिल्ला बाहिर गएर पढ्नुपर्छ भन्ने सोचाइ छ । तर गणेशलाई आफू जहाँ छौं त्यही मेहनत गर्नुपर्छ भन्ने लाग्छ । उनका अनुसार आफ्नै ठाउँमा भएका कलेजको वातावरण राम्रो बनाएर कलेज र विद्यार्थी दुवैले नाम कमाउने वातावरण मिलाउनु नै ठूलो कुरा हो । राम्रो विद्यार्थीलाई टिकाउन सक्नु पनि कलेजका लागि राम्रो हो ।

‘सबै ठाँउ मा शिक्षाको पहुँच पु¥याउनु राज्यको दायित्व हुन्छ । हामीले पनि आफ्नो ठाउँमा पढ्न चाहेको विषयको शिक्षा उपलब्ध हुन्छ भने त्यहीँको कलेजबाट शिक्षा लिनुपर्छ । जिल्ला बाहिर गएर प्रथम हुनसक्नेले आफ्नै ठाउँमा प्रथम हुनेगरी पढ्नुपर्छ । शिक्षकले कहिल्यै गलत बाटो सिकाउँदैनन् । तर मेहेनत गर्ने नगर्ने विद्यार्थीको हातमा हुन्छ’ गणेशले थपे, ‘जस्तै डोल्पाका विद्यार्थी सुर्खेतमा सुर्खेतका काठ्माडौमा र, काठमाडौंका विदेश पढ्न जाने चलन छ । यस्तो आन्तरिक Brain Drain र यसका कारण सिर्जित बाह्य Brain Drain ले देशको सन्तुलित शैक्षिक विकासमा योगदान गर्दैन । त्यसैले आफ्नै ठाउँको वातावरण राम्रो बनाएर मेहेनत गरी अध्ययन गरे कहीँ जानु पर्दैन ।’

अबको योजना के छ भन्ने प्रश्नमा उनले भने ‘सिकाइ निरन्तर प्रक्रिया हो । त्यसैले थप ज्ञान हासिल गर्न जागिरसँगै पढाइ पनि अघि बढाउँदै जानेछु । जुनसुकै भूमिकामा भए पनि राष्ट्रलाई योगदान गर्न तत्पर रहनेछु । यसमा यहाँहरुको यस्तै माया साथ र सहयोग पाउँछु भन्नेमा विश्वस्त छु ।’

तपाईको प्रतिक्रिया