बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को ९२० ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) ९७० बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भिडियो खिच्ने र मिडियासम्म पुर्याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको शुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उनले बताए ।

तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै झिकाएर कारवाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

तपाईको प्रतिक्रिया