बल्ल टुंगो लाग्यो हिमा गाउँपालिका जुम्लाको केन्द्र, जुगाडाबाट बाजागाडा सार्ने तयारी

जुम्ला । लामो समयदेखी विवादमा रहेको हिमा गाउँपालिकाको केन्द्र टुंगो लागेको छ । गाउँपालिकाको आठौ गाउँसभाले गाउँपालिकाको केन्द्र बाजागाडामा तोकेको हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाही र उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाको केन्द्र अनिर्णयको वन्दी भएका वेला यो समयमा आठौ गाउँसभाले केन्द्र बाजागाडामा गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष शाहीले जनतालाई समावेशी रुपमा सेवा लिने हिसावले गाउँसभा सो निर्णयमा पुगेको बताए । यसअघि गाउँपालिकाको केन्द्र विवादका कारण तलिचुउडी जुगाडामा अस्थायी केन्द्र कायम गरी भाडाका घरबाट कार्यसम्पादन गरिदै आएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलका अनुसार गाउँपालिका वडा नम्बर ५ को बाजागाडामा अब गाउँपालिकाको नाममा जग्गा लिने तयारीमा छ । यसमा सबै जनप्रतिनिपतहरु, राजनैतिकदलहरु र स्थानीयको सहयोगको अपेक्षा रहेको उनले बताए । केन्द्र टुंगो लगाउन विभिन्न प्रक्रियामा समेत अगाडी बढ्ने योजना छ ।

गाउँसभाले वडानम्बर १ को केन्द्र देवारगाउँमा सार्ने निर्णय समेत गरेको छ । वडा नम्बर १ का चार जना सदस्यहरुले भने गाउँपालिकाको निर्णय स्वागत योग्य भएपनि वडाको केन्द्र सार्ने बिषय असहमति रहेको बताए । वडा सदस्य पदबहादुर शाहीका अनुसार वडामा छलफलमै भईरहेको समयमा गाउँपालिकाबाट हस्तक्षप भएको तर्क गरे । यता गाउँपालिकाले बड्की र आचार्यलिहीको विचमा देवारगाउँ भएकाले पाईकपर्ने स्थान भएको बताएको छ ।

लामो समय सम्म अन्यौल भएको गाउँपालिकाको टुंगो लागेपछि अब स्थायी संरचनाको रुपमा अगाडि बढ्ने आशा गरिएको छ । गाउँपालिकाको केन्द्र टुंगो नलाग्दा अस्थायी घरमा भाडामा बस्नुपरेको अवस्था सहित कार्यक्रमहरु पनि गर्न कठिन भईरहेको थियो ।

तपाईको प्रतिक्रिया