आठ वर्षदेखि ठेकेदारको कब्जामा रानीघाट पुल

सुर्खेत । कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशको बर्दिया जिल्लालाई जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा भुरीगाउँ–तेलपानी सडकलाई सरकारले निर्माणको काम अघि बढाइएको हो । त्यही सडक खण्डको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटस्थित भेरी नदीमा निर्माणाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण झण्डै आठ वर्षदेखि अलपत्र परेको हो ।

पुलको दुवैतर्फ र नदीको विचमा पिल्लर ठडाइएको छ । तर आधा काम सम्पन्न भएपछि अन्तत निर्माण व्यवसायीले पुलको डिजाइन नै नयाँ पेश गरेपछि अझै यो पुल निर्माण अनिश्चित बनेको छ । यसअघि डिभिजन सडक कार्यालय सुर्खेतले पिल्लरको फेदमा कडा चट्टान भए नभएको बारेमा माटो परीक्षण गर्दा त्यस्तो नपाइएकोले तत्काल काम सुरु गर्न निर्देशन दिएको थियो ।

निर्माण व्यवसायीले नदीको विचमा निर्माण हुने पुलको पिलर बस्ने जगमा चट्टान भएकाले डिजाईन नै बदल्नु पर्ने अवस्थामा पुगेको हो । आधा काम गरेपछि पुनः नयाँ डिजाइन किन बनाउनु प¥यो भन्दै स्थानीयले आशंका व्यक्त गरेका छन् ।

तीन वर्षमा निर्माण कार्य सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने गरी पप्पु–मल्ल जेभी कन्ट्रक्सनले सम्झौता गरेको हो । पूरानो डिजाइनमा काम गर्न नसकिने भन्दै नयाँ डिजाइन सडक डिभिजन कार्यालय सुर्खेतलाई बुझाएको छ ।

सुर्खेत–जाजरकोट जोड्ने पुलमा देखिएको जस्तो समस्या रानीघाट पुलमा देखिएपछि नयाँ डिजाइन पेश गरेको कार्यालयले जनाएको छ । बर्दियासँग सडक जोडिएला वा नजोडियला तर बराहताल गाउँपाकिालमा पर्ने तेलपानी, सुगरखाल, रानीघाट, श्रीचौर, पाग्म लगायतका नागरिकले पिठ्युमा सामान बोकेर गाउँ लैजानु पर्ने बाध्यता छ ।

सुर्खेत–तेलपानी–भूरिगाउँ सडक खण्डको सर्वे आर्थिक वर्ष २०६४÷०६५ मा भएको थियो । तर आर्थिक वर्ष २०६८÷०६९ मा भेरी नदीमा पक्की पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ट्रक्सन कम्पनी र सडक डिभिजन कार्यालय सुर्खेतसंग १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैँयामा सम्झौता भएको हो ।

आठ वर्ष वित्नै लाग्दा निर्माण व्यवसायीले नयाँ डिजाइन पेश गरेपछि त्यो कहिले प्रमाणित हुन्छ र पुलको काम शुरु हुन्छ भन्ने विषयमा डिभिजन सडक कार्यालय सुर्खेत नै अनविज्ञ छ । सुर्खेत–भरिगाउँ जोड्न करिव ५० किलोमिटर दुरीमा रहेको यो सडक सुर्खेतदेखि ३२ किलोमिटर दुरीमा तेलपानीसम्म विस्तार गरिएको छ ।

तेलपानीदेखि रानिपुर २० किलोमिटर मध्य बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले आम्बासादेखि तेलपानीसम्म ४ किलोमिटर बाहेक निकुञ्जको सुरक्षार्थ १६ किलोमिटर सडक निर्माण गरिसकेको छ । सुर्खेतदेखि लुम्बिनी प्रदेशमा पर्ने बर्दियालाई जोड्ने सडकको लम्बाइ ५२ किलोमिटर छ ।

तपाईको प्रतिक्रिया